युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न

युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न


जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न भएको छ ।

क्याम्पमा २०७२, २०७३ र २०७४ सालमा राखेपले आयोजना गरेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको व्यक्तिगत स्पर्धामा पहिलो भएका ७२ खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, उसु र एथलेटिक्सको आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई सम्बन्धित खेलका प्रशिक्षकले १० दिनसम्म उपत्यकामा प्रशिक्षण दिएका थिए ।

कराते खेलाडीलाई गंगाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथलेटिक्सलाई चन्द्र गुरुङ, धनीराम चौधरी, राकेश बज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी चारै खेलका एक–एक पुरुष–महिला उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा नगदबाट पुरस्कृत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए । त्यस्तै तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथलेटिक्सको पुरुषमा विकास खाण ठकुरी र महिलामा जयरानी थारू उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

सहभागीलाई राखेपका कोषाध्यक्ष सैलेश कर्माचार्य, सानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकलगायतले प्रमाणपत्र प्रदान गरे ।