क्यामरुनबाट अलग हुने माग गर्दै ७९ विद्यार्थीसहित ८२ अपहरित

क्यामरुनबाट अलग हुने माग गर्दै ७९ विद्यार्थीसहित ८२ अपहरित


क्यामरुनको अंग्रेजीभाषी बसोवास गर्ने क्षेत्रबाट ७९ विद्यार्थी अपहरित भएका छन् ।

उक्त क्षेत्रलाई क्यामरुनबाट छुट्याउन संघर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । विद्रोहीले यसबारे अझै प्रतिक्रिया जनाइसकेको छैन ।

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रवेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बसचालकलाई समेत विद्यार्थीसँगै लगेको विद्यालय स्रोतले पुष्टि गरेको छ । उक्त क्षेत्र क्यामरुनको उत्तरपश्चिममा पर्छ ।

क्यामरुनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो घटना अहिलेसम्मको सबैभन्दा ठूलो घटना हो । क्यामरुनमा अधिकांश फ्रेन्चभाषी रहेका भएपनि उक्त क्षेत्रमा अंग्रेजी भाषालाई मातृभाषाका रूपमा मानिदै आएको छ ।

क्यामरुनमा विगत ३५ वर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ वर्षीय राष्ट्रपति पाउल बिया गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टि जनाउँदै आएका छन्

निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दाबी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीहरूले नै हुलदंगा मच्चाएर निम्न संख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ ।

क्यामरुनमा दुई करोड २० लाख अंग्र्रेजीभाषी नागरिक छन् र अल्पसंख्यक उनीहरूले आफ्नो भूभागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरुन जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधीनमा गएको थियो ।

सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाए पनि अंग्रेजीभाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन ।

क्यारुनमा भएका हिंसात्मक आन्दोलनमा परी चार सय नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।