१०औँ एल कप ब्याडमिन्टन शनिबारदेखि

१०औँ एल कप ब्याडमिन्टन शनिबारदेखि


पाटन शंखमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा ‘१०औँ एल कप ब्याडमिन्टन प्रतियोगिता –२०७५’ कात्तिक १० गतेदेखि शंखमूल प्लानिङमा सञ्चालन हुने भएको छ ।

ब्याडमिन्टन खेलको माध्यमबाट नगरभित्र रहेका व्यक्तिहरूबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले २०६५ सालदेखि एलकपको आयोजना गरिँदै आएको छ । एल कपको दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरिसकेको छ ।

प्रतियोगिता २०७५ कात्तिक १० देखि १७ गतेसम्म सञ्चालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी गराए । ब्याडमिन्टनको संस्थागत रूपमा सञ्चालन भएको पहिलो यस प्रतियोगितालाई ललितपुरमा सम्मानित प्रतियोगिताको रूपमा हेरिने गरिएको अध्यक्ष महर्जनले बताए ।

रनिङ सिल्डको रूपमा रहेको दशौँ एल कपमा पुरुष युगल, भेट्रान्स (४५ वर्षमाथि), मिक्स युगल र यू– १५ छात्रतर्फ प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइनेछ ।

करिब १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलतर्फका विजयी पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फ १५, १० र ५ तथा मिक्स युगल र यू– १५ तर्फ १०, ७ र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए ।