मिडियातर्फ मोडेर चोखिने प्रयास !

मिडियातर्फ मोडेर चोखिने प्रयास !


नेकपाका वरिष्ठ नेता माधव नेपालले आफू र केपी ओलीबीच कुनै मतभिन्नता नरहेको तर मिडियाले ओलीसँग मतभेद भएको भनी मिथ्या प्रचार गरेको आरोप लगाएका छन् । नेकपा दाङले दशैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य दिँदै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको दाबी गर्दै ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको अभिव्यक्ति दिए ।

आफूहरुबीच कुनै समस्या नरहेको दोहोर्याएका नेता नेपालले वामदेव निर्वाचन लड्ने कुरा पनि यथार्थ नभई हल्ला मात्र भएको जिकीर गरे । नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको दाबी गर्न समेत नचुकेका उनले रचनात्मक प्रतिपक्षी बन्न नेपाली कांग्रेसलाई सुझाव दिए ।

ज्ञातव्य छ, पछिल्लो संसद अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री ओलीतर्फ लक्षित हुँदै नेकपाका वरिष्ठ नेता नेपालले सरकारको रवैयाका कारण पार्टी र देश नै डुब्न लागेको अर्थ लाग्ने भाषण गरेका थिए । उनको अभिव्यक्तिलाई ओलीप्रतिको असन्तुष्टिका रुपमा ब्याख्या गर्दै नेपाली मिडियाले निकै हाइलाइट गरेको थियो ।