ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरको सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरको सहायता कटौती गर्ने ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरूलाई उपलब्ध गराउँदै आएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् । होन्डुरसका नागरिक अवैध आप्रवासीका रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघले सात हजारभन्दा बढी मानिस संयुक्त राज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि संयुक्त राज्य अमेरिका प्रवेशको मौका छोपेर बसेकासमेत अहिले क्याराभानमा सामेल भएका छन् ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाको सीमाछेउमै आउन लागेको उक्त क्याराभानबारे दिनहुँझैँ ट्विट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताएका छन् । उनले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।

‘हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको वैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौँ, र त्यसबाहेक हामीसँग अर्को विकल्प छैन,’ ट्रम्पले भने । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासीविरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रूपमा उठ्ने देखिएको छ ।

‘दुर्भाग्यवश, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्त राज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदै छ । अपराधीहरू र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घुसपैठ छ,’ उनले थपे ।

मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनै पनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए ।

मेक्सिकोका अधिकारीहरूले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो, तर उनीहरू नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए । नदी तर्नासाथ उनीहरू उत्तरतर्फ हिँडेका थिए ।

एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौँ होन्डुरसवासीलाई आप्रवासीका रूपमा मेक्सिको प्रवेश गर्न दिएको बताए ।

यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीहरूले बताएका छन् । उनीहरूमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो ।

अधिकारकर्मीहरूले करिब ३ हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरूलाई करिब एक महिना लाग्ने बताएका छन् । ‘हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर, यदि उनीहरूले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौँ,’ नोमी बोबाडिल्लाले बताइन् । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिँड्न थालेको १३ दिन भइसक्यो ।

‘मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरूले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्न सक्नेबारे हामीलाई थाहा छ,’ अर्का आप्रवासी हुँवा फ्लोरेले भने, ‘तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौँ ।’

आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शंकास्पद रूपमा सडकमै झरेको बताए । अधिकारकर्मीहरूले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।

धेरैवटा अधिकारवादी समूहहरूले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताएका छन् । आगामी डिसेम्बर १ मा वामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै छन् । उनले मध्यअमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए ।

केही अधिकारवादीहरूले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । ‘ट्रम्पलाई क्याराभानको डर होइन, उहाँले कंग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहनुभएको छ,’ गत अप्रिलमा अर्को क्याराभानको आयोजना गरेका अधिकारकर्मी इरिनिओ मुजिकाले बताए । उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकांक्षा रहेको भन्दै भत्र्सना गरेका थिए ।

अमेरिकी सहायता कटौती

मध्यअमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षहरूमा कटौती हुँदै आएको छ ।

सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो । ल्याटिन अमेरिकासम्बन्धी वासिंटन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ ।

यद्यपि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ । गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ ।