नेकपा प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

नेकपा प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।’ प्राडा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।

यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले अघिसारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए । नेता नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिँदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए ।

बाँकी कार्यसूचीमाथि छलफल गर्न यही कात्तिक ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्नेछ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे आगामी बुधबार हुने अर्को बैठकदेखि छलफल प्रारम्भ हुने बताइएको छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्मको एकतालाई पूर्णता दिने जनाइएको थियो । त्यो तीन महीना पूरा भएर थप दुई महीना बितिसक्दा समेत पूर्णता प्राप्त भएको छैन ।

यही कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका विषयमा भने बुधबार बस्ने बैठकमा छलफल हुने जनाइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरले सांसद सदस्यबाट राजीनामा दिन नपर्ने निर्णय गरेको थियो ।

तस्बिर रासस