दुःख-सुख र माया साटासाट गर्न हरिवंश सिड्नीमा

दुःख-सुख र माया साटासाट गर्न हरिवंश सिड्नीमा


– राजन घिमिरे, अष्ट्रेलिया

स्वदेशमा रहेका नेपालीको त सवाल नै रहेन, परदेशवासी कुनै नेपाली पनि नहोलान् जसले कलाकार हरिवंश आचार्यलाई नचिनेको होस् । नेपाली कलाकारिता क्षेत्रका यिनै बहुप्रतिभाशाली कलाकार हरिवंश आचार्य सिड्नीमा रहेका नेपालीमाझ प्रस्तुत हुने भएका छन् ।

आइतबार राती सिड्नी उत्रिएका वरिष्ठ कलाकार आचार्यको यसपटकको अष्ट्रेलिया भ्रमण नितान्त पारिवारिक भएता पनि उनि अष्ट्रेलियाका विभिन्न शहरहरूमा नेपालीमाझ विभिन्न प्रस्तुतिका साथ उपस्थित हुने भएका छन् ।

हरिवंश आचार्य यसपटक आफ्नी धर्मपत्नी रमिला आचार्य थापाका साथ अष्ट्रेलिया आइपुगेका हुन् । ‘नोभेम्बर ३ तारेखका दिन सिड्नीमा आयोजना हुने कार्यक्रममा हामी उहाँलाई सम्मान गर्दै छौँ भने त्यो दिन उहाँको पुस्तक हरिबहादुर र चिना हराएको मान्छे उहाँकै हस्ताक्षरसहित उपलब्ध हुने छ,’ सिड्नी कार्यक्रम आयोजक बाबा एजुकेशन कन्सल्टेन्सीका रविन्द्र कुमार शर्माले जानकारी दिए ।

सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने हरिवंश आचार्य गाला डिनर कार्यक्रमका साथमा सिड्नीमा रहेका गायकहरू सञ्जीव पराजुली र समीर आचार्यको गीत संगीत पनि सुन्न पाइने छ ।

आफू पहिले पनि अष्ट्रेलिया आएको र यसपटक लामो समयको अन्तरालपछि आउँदा नयाँ अनुभूति भैरहेको हरिवंशले बताए ।

‘सिड्नीमा रहनुभएका नेपालीहरू माझ बसेर दुःखसुखका कुरा गर्दै माया साटासाट गर्ने र आफ्ना जीवनका भोगाई तथा अनुभूतिका बारेमा जानकारी गराउनु नै कार्यक्रमको उद्देश्य हो,’ हरिवंश भन्दै थिए ।