पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयै सकिन्छ : मन्त्री अधिकारी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयै सकिन्छ : मन्त्री अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका– २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थलको निर्माणकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको समन्वयको आवश्यकता पनि औँल्याए ।

नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवं प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका पाँचवटै स्थानीय तह र वडास्तरमा समेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिए ।