अनुगमनमा भेटियो सडेगलेका फलफूलको जुस !

अनुगमनमा भेटियो सडेगलेका फलफूलको जुस !


चाडपर्वका अवसरमा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ । विभागले हिजो फूलपातीका दिन काठमाडौं उपत्यकामा दुई टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दिएको थियो ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले जनाएअनुसार विभागबाट शाखा अधिकृतको नेतृत्वमा खटिएको अनुगमन टोलीले राजधानीको नयाँ सडक क्षेत्रका होटल, रेष्टुराँ र कलङ्कीस्थित खसी बजारको अनुगमन गर्दा नयाँ सडकको एक जुस पसलले सडेगलेका फलफूलको जुस बनाएर बिक्री वितरण गरेको पाइएको थियो ।

उक्त पसलका सञ्चालकलाई दशैँ बिदा सकिएलगत्तै आवश्यक कागजातसहित विभागमा स्पष्टीकरण पेश गर्ने निर्देशन दिइएको छ ।

नेपाल खाद्य संस्थानले काठमाडौँ उपत्यकामा बिक्री गर्न ल्याएका खसीबोका तथा च्याङ्ग्रा सकिएपछि निजी क्षेत्रका व्यापारीले चर्को मूल्यमा चौपाया बिक्री गर्न सक्ने भन्दै विभागको टोलीले कलङ्कीको खसी बजारको समेत अनुगमन गरेको थियो । अनुगमनमा पुरानै दरमा खसीबोका बिक्री गरेको पाइए पनि खसीबोका व्यवसायीसँग छलफल गरी मूल्य नबढाउन निर्देशन दिइएको छ ।

यस्तै कलङ्कीस्थित भाटभटेनी स्टोरले च्याउ महङ्गोमा बिक्री वितरण गरेको भन्ने हेलो सरकारमा परेको उजुरीमाथि पनि विभागको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा किसानसँग खरीद गर्दा नै च्याउको मूल्य बढी परेकाले केही मूल्य बढाएर बिक्री वितरण गरिएको भाटभटेनीले जानकारी गराएको महानिर्देशक गौचनले बताए । भाटभटेनीलाई पनि कार्यालय खुलेका दिन आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।