जापानी प्रधानमन्त्री आबे स्पेन, फ्रान्स र बेल्जियमको पाँचदिने भ्रमणमा

जापानी प्रधानमन्त्री आबे स्पेन, फ्रान्स र बेल्जियमको पाँचदिने भ्रमणमा


जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँचदिने भ्रमणका लागि आज (मंगलबार) त्यसतर्फ प्रस्थान गरेका छन् । उनी यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया–युरोप बैठकमा पनि सहभागी हुनुहुने बताइएको छ ।

त्यस भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरूमा द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा कुराकानी हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी अबेले स्पेनका राजा फिलिप छैटौँसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जापानी विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

फ्रान्समा उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक तथा द्विपक्षीय भेट गर्नेछन् । सो भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

सो भेटका क्रममा जापान–फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ । त्यसक्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताबारे पनि उनीहरूबीच कुराकानी हुनेछ ।

प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने र त्यहाँ आयोजना हुने दुईदिने एसिया युरोप बैठकमा सहभागी ुहुने कार्यक्रम रहेको पनि उनको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ ।

यस बैठकमा एसिया र युरोपका नेताहरूको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेतासँग पनि उनले द्विपक्षीय वार्ताहरू गर्नेछन् ।

यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरू रहेका छन् । तीमध्येका यसपटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तीकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्न सक्ने उपायहरू रहेका छन् ।

उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।