नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने

नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने


नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एसियान गेममा नेपालका लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलोपटक First Nepsl Paragliding Accuracy World Cup 2018 आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । उक्त मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरको रूपमा समेत विकास गरिरहेको संघले जनाएको छ । यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोस्रो तथा तेस्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुनेछ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमिको हुने आयोजकले जानकारी गराएका छन् ।

नेपालले क्रस कन्ट्रीमा आफूलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८औँ एसियाली खेलकुदमा नेपालले पदक हात पार्नुअघि पनि २०१८ मा मित्रराष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाइना लिनझाउ पाराग्लाइडिङ प्रि–विश्व कपमा नेपालका विशाल थापाले नेपालका लागि कांस्य पदक दिलाउन सफल भएका थिए । यसका साथै इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भएको संघले जनाएको छ ।

जिल्ला समन्वय समित, स्याङ्जा, जिल्लाको स्थानीय सरकारको सहयोगमा हुने प्रतियोगिताका विजयी टिमतर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजक शैलेन्द्रले बताए ।