बाह्र वर्षपछि श्रीपेच सार्वजनिक

बाह्र वर्षपछि श्रीपेच सार्वजनिक


पूर्वराजाहरूले लगाउने गरेको श्रीपेच आज सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्रहालयमा रहेको सो श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

नारायणहिटीस्थित शैलुन कक्षमा राखिएको उक्त श्रीपेच अब प्रदर्शनीमा ल्याइने उद्देश्यले सार्वजनिक गरिएको बताइएको छ ।

श्रीपेचसहित राजाले बोक्ने राजदण्ड, रानीले लगाउने टायरालगायतका सामग्री सार्वजनिक गरिएको हो । अब नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि जानेहरूले प्रदर्शनीमा राखिएका श्रीपेचसहितका सामग्रीहरू हेर्न सक्नेछन् ।

०६२/६३ को आन्दोलनपछि राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबार छोडेर नागार्जुन सरेदेखि नै राजतन्त्रको प्रतीकसमेत मानिने शाह राजाहरुको शीरको पगरी श्रीपेच थन्किएर रहेको थियो । नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्न जानेहरुले श्रीपेच हेर्ने चाहना सर्वाधिक व्यक्त गर्दै आएका थिए ।

तस्बिर रासस