संघीयता विफल पार्ने षडयन्त्र भएको मन्त्री साहको आरोप

संघीयता विफल पार्ने षडयन्त्र भएको मन्त्री साहको आरोप


राजविराज । प्रदेश नम्वर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मधेशी जनताको बलिदानीबाट प्राप्त संघीयतालाई सफल पार्न प्रदेश सरकार जस्तौसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

विजयादशमी, दीपावली एवम् छठ पर्वको अवसरमा संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति सप्तरीले राजविराजमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संघीयतालाई विफल पार्न परिवर्तनविरोधी शक्तिहरुले षडयन्त्र गरिएको आरोप लगाउँदै उनले भने ‘मधेशी जनताको बलिदानीबाट प्राप्त संघीयता कार्यान्वयनको चरणमा छ, तर यसलाई विफल पार्ने षडयन्त्र भइरहेकोले यसलाई सफल पार्न प्रदेश सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ ।’

प्रदेश सरकारको आफ्नै प्रहरी आवश्यक रहेको चर्चा गर्दै मन्त्री साहले प्रदेश प्रहरीसम्बन्धी विधेयक–२०७५ बहुमतले पारित भएकोले मधेशी युवाहरुलाई तयार रहन आग्रह गरे । प्रदेश सरकारले चाहेर पनि कतिपय विषयमा निर्णय लिन नसक्ने अवस्था रहेको जानकारी दिँदै उनले कर्मचारी अभावले कामकार्वाही चुस्तदुरुस्त बनाउन नसकेको बताए ।

संघीय सरकारसँग आवश्यक कर्मचारी ‘बाधा विरोधका बावजुद पनि प्रदेश प्रहरीसम्बन्धी विधेयक–२०७५ पारित भइसकेको छ, अब चाँडै करारमा कर्मचारी नियुक्ति सम्वन्धि ऐन समेत पारित हुनेमा हामी आशावादी छौँ । विगतमा प्रहरीमा मधेशीहरुको सहभागिता एकदमै न्यून रहेको चर्चा गर्दै ऐन पारित भइसकेपछि मधेशी युवाले समूहगत रुपमा मधेश प्रहरीमा भर्ना हुन पाउने सुनौलो अवसर पाउने मन्त्री साहले बताए ।

प्रदेश सरकारको विषयमा संघीयता विरोधीहरुद्वारा भ्रम फिँजाउने काम भइरहेकोले त्यस्ता भ्रमको पछि नलाग्न उनले मधेशी जनतालाई आग्रह गरे । संघीय सरकारसँग कर्मचारी माग गर्दै आए पनि वास्ता नगरेकोले ऐन पारित भइसकेपछि करारमै भए पनि कर्मचारी नियुक्त गरेर प्रदेश सरकारको कामकार्वाहीलाई जनताले अनुभूती हुने गरी अगाडि बढाउने मन्त्री साहले प्रतिबद्धता व्यक्त गरे ।

आफुहरु बोलेर नभई व्यवहारमा गरेर देखाउने संकल्पका साथ अगाडि बढिरहेको बताउँदै उनले भने ‘हामी संघर्षकै मैदानबाट यहाँसम्म पुगेका हौँ, त्यसैले मधेशी जनताको सपना साकार पार्न हामी कदापि चुक्ने छैनौँ ।’

पार्टीका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्य सचिव शम्भु झा, केन्द्रिय सदस्यहरु शैलेश कुमार चौधरी, अनिरुद्ध कुमार सिंह यादव, जगदेव यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, युवा नेता युसुफ अली लगायतले मन्तव्य व्यक्त गरे ।