शिरीषले जिते ८औँ ओपन वाटर च्याम्पियनसिप

शिरीषले जिते ८औँ ओपन वाटर च्याम्पियनसिप


ओलम्पियन शिरीष गुरुङले पोखराको फेवातालमा सम्पन्न ८औँ ओपन वाटर स्विमिङ च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ किलोमिटरको दूरी २१ मिनेट ३२ः६७ सेकेन्डमा पूरा गरे । गुरुङले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । गुरुङले पाँचौँ र छैटौँ संस्करण पनि जितेका थिए । यसअघिको संस्करण एपीएफका देवेश मानन्धरले जितेका थिए ।

नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराही घाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनेट ३८ः३१ सेकेन्ड समयका साथ दोस्रो भए । उनले नगद १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानमा अविरल भण्डारी रहे । उनले २१ मिनट ४२ः३१ सेकेन्ड समय खर्चे । भण्डारीले नगद १० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनेट ३३ः३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन् । उनले नगद १५ हजार प्राप्त गरिन् । यसैगरी २३ मिनेट ५५.९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन् । कांस्य पदक जितेकी श्रेवी महर्जनलले २४ मिनेट ०५ः७७ सेकेन्ड समय लगाइन् । रजत र कांस्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे ।

कास्की जिल्लाका लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङले २६ मिनेट ४८.७४ समयका साथ स्वर्ण पाए । उनले नगद ८ हजार प्राप्त गरे । दोस्रो भएका अर्जुन नेपालीले नगद ५ हजार प्राप्त गरे । उनले ३० मिनेट १८ः१० सेकेन्ड समय लगाए । तेस्रो स्थानमा रहेका ठाकुर चौधरीले ३३ मिनेट ५६ः४९ सेकेन्ड समय लगाए । चौधरीले नगद ३ हजार प्राप्त गरे ।

विदेशी खेलाडीको प्रतिस्पर्धामा स्पेनका खेलाडीले विजयी भए । गार्सिया डेलगाडो मार्टाले पहिलो स्थान हात पारिन् । उनले २८ मिनेट ५१ः६० सेकेन्ड समय लगाइन् । दोस्रो स्थानमा मिचेल वेल्चले ३१ मिनेट ३६.१० सेकेन्ड समय खर्चिन् । यसै गरी अवेरो मारियाले ३५ मिनेट २०ः०३ सेकेन्ड समयका साथ तेस्रो भइन् । विदेशी खेलाडीहरूले प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि कास्कीका प्रदेश सभासद् राजीव पहारी, सेनाका गण्डकी पृतनापति रथी काजीबहादुर खत्री, एसपी ओम राना, नेपाल पौडी संघका उपाध्यक्ष महेश नेवाः र महासचिव जगतमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्कीका ६, विदेशी ५, महिला १० गरी कुल ४० जनाको सहभागिता रहेको थियो ।