खाद्य संस्थानबाट खसीबोका र च्यांग्राको बिक्री शुरु

खाद्य संस्थानबाट खसीबोका र च्यांग्राको बिक्री शुरु


नेपाल खाद्य संस्थानले आज (शुक्रबार) देखि च्यांग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार थापाथलीस्थित गोदामबाट च्यांग्र्रा प्रतिकेजी रु. ७०० र खसीबोका रु. ५०० मूल्यमा बिक्री हुन थालेको हो ।

दशँैका लागि मुस्ताङबाट एक हजार च्यांग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करिब ९०० च्यांग्र्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरू आउने क्रममा छन् । च्यांग्र्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरिद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ ।

दशैँको बेला उपत्यकामा मासुको अत्यधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ । यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्यमाथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताए । संस्थानले असोज ३० गतेसम्म खसीबोका र च्यांग्रा बिक्री गर्ने जनाएको छ ।