संविधानले दिएका अधिकार कार्यान्वयन नभएको देउवाको जिकिर

2 Shares

नेपाली कांग्र्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनद्वारा आज चितवनमा आयोजित प्रेस युनियन मैयादेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिए ।

कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै देउवाले भने, ‘प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।’ सो अवसरमा उनले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । भने, ‘प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँहरूलाई पार्टीबाट अंकुश लगाउने काम हुँदैन ।’ सभापति देउवाले ५५ लाख रुपैयाँको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गरे ।

कार्यक्रममा कांग्र्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए ।

सो अवसरमा ५१ हजार १५१ रुपैयाँ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी रु. ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । युनियनको आठाँै जिल्ला अधिवेशन आजदेखि शुरु भएको छ । शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुनेछ ।

2 Shares

प्रतिक्रिया