आठ वर्षको उमेरमा स्वर्ण पदक जित्ने आर्यन सम्मानित

आठ वर्षको उमेरमा स्वर्ण पदक जित्ने आर्यन सम्मानित


नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई असोज २६ गते बिहीबार नगदसहित सम्मान गरेको छ । सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रञ्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरिएको थियो ।

सो अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किकबक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङ पनि सम्मानित भइन् । पाँचै खेलाडीलाई संघका उपाध्यक्ष रोशन विष्टले जनही ५ हजार नगद प्रदान गरे । पाँचै पदक विजेतालाई संघका सल्लाहकार एवं नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले ७ हजार मूल्यबराबरको व्याग पनि प्रोत्साहनस्वरूप प्रदान गरेका थिए ।

त्यस्तै कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेबापत ८ वर्षीय आर्यनलाई संघका उपाध्यक्ष किसनराज सिंहले नगद २० हजार प्रदान गरेका थिए । संघका सदस्य अच्युत लामिछानेले पनि प्रोत्साहनस्वरूप आर्यनलाई ५ हजार नगदबाट पुरस्कृत गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, संघका अध्यक्ष सञ्जय रञ्जितलगायतले उनीहरूलाई सम्मान गरेका थिए । सोही अवसरमा नेपाल रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र सहसंयोजक महेश रञ्जित तथा सल्लाहकार रामकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।