निराशाबीच उमङ्गको चाड

निराशाबीच उमङ्गको चाड


आमनेपालीका लागि अत्यन्त अहम् र अर्थपूर्ण अवसर बनेर आउने उल्लास–उमङ्गको महान् चाड दशैँ नेपालीको घर–आँगनमा ओर्लिनै लागेको छ । नेपाली समाजले दशैँलाई पारिवारिक मिलनसँगै सामाजिक, सामुदायिक, भौगोलिक हुँदै राष्ट्रिय मिलनको पर्वका रूपमा समेत ग्रहण गरेको छ । यस चाडको अवसरमा एक–अर्कालाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्ने, देश–परदेशदेखि धाएर नाता–आफन्त, मित्र–मान्यजन भेट गर्ने, अनुभवीबाट उपदेश–आशीर्वाद लिने, असमझदारी मेटाएर सहमति र सम्बन्धको नयाँ सेतु जोड्ने, भएको सम्बन्ध थप प्रगाढ तुल्याउने, खुसी साटासाट गरेर मनलाई चङ्गा पार्ने प्रचलन छ । दशैँको यस सुन्दर विशेषताकै कारण हिन्दूधर्म मान्ने मात्र होइन अन्य धर्मावलम्बीले समेत यस चाडलाई सांस्कृतिक र सामाजिक पर्वका रूपमा लिएर उल्लासमा सहभागी हुन चाहिरहेका देखिन्छन् ।

वास्तवमा राष्ट्रिय धर्म के हुनुपर्ने भन्ने सन्दर्भमा उठ्दै आएको धर्मसापेक्ष वा निरपेक्षताको सवाल, बहस या विवादसमेत दशैँका दश दिन भए पनि साम्य बन्न पुग्छ । यति मात्र होइन, दशैँसँग जोडिएको बलिप्रथाको उपादेयता वा नकारात्मक पक्षको बहस पनि दशैँको सन्दर्भमा पछिल्ला वर्ष बढेर गएको छ । अर्थात्, परम्परा निर्वाहको नाममा पशुहिंसा गर्न हुने कि नहुने भन्ने प्रश्नमा पछिल्ला दशैँका अवसरमा गहिरिएर बहस हुन थालेको छ । यसरी पशुबधको ‘मौसमी विरोध’ गर्नेहरूलाई समेत झकझक्याउने अवसर बन्न पुगेको छ दशैँ । सरल रूपमा भन्नुपर्दाचाहिँ आमनेपाली समाजका निमित्त येनकेन राम्रो लगाउने, मीठो खाने र आनन्द मनाउने दशैँको जडी अर्थ हो, जसको महत्व सामान्य ढङ्गले मापन गर्न मिल्दैन, सकिँदैन ।

पक्कै पनि कुनै व्यक्ति या सरकार जादुको छडी होइन, वर्षौं लाग्ने काम हप्ता या महिना अवधिमा गर्न कसैले सक्दैन पनि । तर, यो सत्यको अवज्ञा गर्दै विगतमा ‘चमत्कार नै गरी देखाउने’ मोहक–मादक अभिव्यक्ति किन दिइयो ? प्रश्न स्वाभाविक तवरले खडा हुन्छ । यही प्रश्नको पेरिफेरीमा रहेर भन्नुपर्दा हात्ती आयो–हात्ती आयो फुस्सा भन्ने उखान चरितार्थ भएको अनुभूति गरिएको हो । यसलाई मुलुककै जिम्मा लिएको सरकारले अन्यथा ठान्नुहुँदैन ।

यस्तो महत्वपूर्ण अवसरको मुखैमा पनि नागरिकले सरकारप्रति गुनासो गर्नुपर्ने, गाली दिनुपर्ने विडम्बनाबाट मुलुक गुज्रिरहेको छ । यो अत्यन्त नमीठो सन्दर्भ हो । यसरी उमङ्गको चाडलाई उल्लासविहीन बनेर स्वागत गर्नुपर्ने अभिशाप निम्तिनुमा अरू कसैको नभई आफैँले भर–भरोसा गरेको र देशकै अभिभावकतुल्य सरकारको भूमिका रहनु नागरिकका निम्ति थप विस्मात्को विषय हो । किनकि, केपी ओली नेतृत्वको वर्तमान सरकारबाट अघिपछिको तुलनामा नेपाली जनताले ठूलो आशा–भरोसा राखेका थिए । जादु गरेजत्तिकै करामत देखाएर देश र जनतालाई पुलकित तुल्याइदिने आश्वासन मिलेको थियो । तर, आज प्रेरक प्रधानमन्त्री स्वयम् निराश हुन पुगेका, आफूलाई कसैले सहयोग नगरेको गुनासो गर्दै गलेका र ‘सरकार जादुको छडी होइन रातारात परिवर्तन गरी देखाउन सक्ने’ अभिव्यक्ति दिँदै चिढिएका समाचार सुनिएका छन् ।

जसले आशा देखायो, ऊ नै निराशाको गर्तमा गाडिएको अनुभूति गरिन्छ भने योभन्दा अप्रिय अवस्था के हुन सक्छ ? पक्कै पनि कुनै व्यक्ति या सरकार जादुको छडी होइन, वर्षौं लाग्ने काम हप्ता या महिना अवधिमा गर्न कसैले सक्दैन पनि । तर, यो सत्यको अवज्ञा गर्दै विगतमा ‘चमत्कार नै गरी देखाउने’ मोहक–मादक अभिव्यक्ति किन दिइयो ? प्रश्न स्वाभाविक तवरले खडा हुन्छ । यही प्रश्नको पेरिफेरीमा रहेर भन्नुपर्दा हात्ती आयो–हात्ती आयो फुस्सा भन्ने उखान चरितार्थ भएको अनुभूति गरिएको हो । यसलाई मुलुककै जिम्मा लिएको सरकारले अन्यथा ठान्नुहुँदैन ।

धेरै दोहोऱ्याइरहनु आवश्यक छैन कि शान्तिसुरक्षा, विकास–निर्माण, शासन–प्रशासन, भाउबेसाहाको अवस्थालगायत जनताको जीवनसँग सोझै जोडिने विषयका सवालमा देश यतिबेला दर्दनाक अवस्थाबाट गुज्रिरहेको छ । सरकारका महत्वपूर्ण निकायहरू निकम्मा प्रतीत हुँदै छन् । यो विकराल परिस्थितिको विरोधमा जनता सडकमा उत्रिनुपरेको छ, जसले दशैँको उल्लासलाई समेत बिर्साइदिएको छ । शासनमा रहेकालाई यो कुरा फगत विरोधका लागि गरिएको विरोधझैँ बिझाउन सक्छ, तर सत्य सदा मीठो नै हुन्छ भन्ने पनि छैन, अनि तीतो लागेजति यथार्थ नै होइन भन्न पनि मिल्दैन ।

यस्तै सङ्गति–विसङ्गतिबीच दशैँको आगमन भइसकेको छ । जस्तोसुकै पीडामा पनि रमाउन सक्ने प्राणीको रूपमा समेत पहिचान बनाएका हामी नेपाली मिलनको यो महान् चाडलाई स्वागत गर्न आतुर बनिसकेका छौँ । विजया भवानीले सबैमा शक्ति, सामर्थ्य र विजयीभाव जगाइदिऊन्, मुलुकले खोजेको शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर रहन शासक–प्रशासक एवम् तमाम नागरिकमा प्रेरणा जागोस् । सबै–सबैप्रति विजयादशमी २०७५ को मंगलमय शुभकामना !