गलकोटका ज्येष्ठ नागरिकलाई वार्षिक तीन हजार पर्वभत्ता

गलकोटका ज्येष्ठ नागरिकलाई वार्षिक तीन हजार पर्वभत्ता


बाग्लुङको गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्वभत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु. तीन हजार पर्वभत्ता पाउनेछन् ।

लगत संकलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्वभत्ता दिने निर्णय नगरसभाबाट गरिएको थियो । ‘लगत लिने काम अन्तिम चरणमा पुगको छ,’ नगर प्रमुख गैरेले भने । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ ।

‘ज्येष्ठ नागरिकको सेवा,–सुविधाप्रति हामी संवेदनशील छौँ,’ गैरेले भने । नियमित रूपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ । नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थाका महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु. तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।