पपुवान्युगिनीमा ७.१ म्याग्निच्युडको भूकम्प

पपुवान्युगिनीमा ७.१ म्याग्निच्युडको भूकम्प


पपुवान्युगिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्निच्युडको अर्काे शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ ।

तर, मानवीय क्षतिबारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।

पपुवा न्युगिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकै ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भए पनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।