सुनवलमा बन्यो जिल्लाकै नमुना प्रसूतिगृह

सुनवलमा बन्यो जिल्लाकै नमुना प्रसूतिगृह


पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमुना प्रसूतिगृह सञ्चालनमा आएको छ ।

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित र सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै प्रदेश सरकार सबैलाई सहज र व्यवस्थित उपचार सेवा लिने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

सुनवल नगरपालिकाभित्रका गर्भवतीले आफ्नै गाउँपालिकामा सहज वातावरणमा बच्चा जन्माउन पाऊन् भन्ने उद्देश्यले नगरपालिकाले सो केन्द्र सञ्चालनमा ल्याएको नगरप्रमुख भीमबहादुर थापा क्षेत्रीले बताए ।

नगरपालिकाभित्रका जोसुकै गर्भवतीले सो केन्द्रमा बच्चा जन्माउन आउँदा त्यसका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ । व्यवस्थित र वातानुकूलितसहितको उक्त सेन्टरमा ६ जना दक्ष स्टाफ नर्ससहित ११ स्वास्थ्यकर्मी खटाइएका छन् । साथै बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधिको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकूल राख्न वातानुकूलितसहितको प्रसूति कक्ष बनाइएको छ ।