ओलीको पक्षमा उभिए महासेठ

6 Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन । र, उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया उनले दिए । उनले भने, ‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’ उनले अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाईदिनेपनि दाबी गरे । उनले भने, ‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पनापनि गर्न सक्दैन् ।’

6 Shares

प्रतिक्रिया