रुसको कृषि फर्ममा लाखको जागिर दिलाउने प्रलोभन दिएर लाखौँ ठगी

रुसको कृषि फर्ममा लाखको जागिर दिलाउने प्रलोभन दिएर लाखौँ ठगी


रुसको गाजेस्थानस्थित अर्गानिक कृषि फर्ममा कामदारहरूको आवश्यकता परेको र त्यहाँ प्रतिदिन १० घण्टा काम गरेवापत मासिक हजार अमेरिकी डलर तलब पाइने, खाने बस्ने सुविधा पनि रहेको भन्दै प्रलोभन दिएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरी नियन्त्रणमा परेका छन् । प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ भनी ठूलो संख्यामा गाउँका सोझा सिधा व्यक्तिहरूबाट एड्भान्सवापत प्रतिव्यक्ति एकदेखि २ लाख रूपैयाँ र राहदानी समेत संकलन गरी ठगी गरिरहेको सूचना प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा प्राप्त भएपछि प्रहरीले निगरानी शुरु गरेको थियो ।

ब्युरोबाट खटिएको टोलीले लगातार निगरानी गर्ने क्रममा ४०-४५ जना व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिसकेको खुल्न आएपछि यही असोज १६ गते काठमाडौंका विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरूको ७४ थान पासपोर्ट, ४ लाख ३० हजार नगद, विभिन्न बैंकका भौचर तथा एटीएम कार्डहरूसहित ठगीमा संलग्न व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरूमध्ये नुवाकोट ओखरपौवा घर भई हाल ललितपुरको च्यासल बस्ने राजु तामाङले आफूलाई रसियामा बस्दै आएको र त्यहाँ कृषिफर्म रहेको भन्दै प्रलोभन दिने गरेका थिए ।

अर्का अभियुक्त ललितपुर सौगलका ७२ वर्षीय गोविन्द वैधले रसियाको कृषि फर्म संचालनमा राजु लामाबाट लेटर अफ एटर्नी दिएको छ भन्दै आफ्नै घरमा बोलाएर पीडितहरुबाट रकम संकलन गर्ने गरेका थिए । यस्ते, सिन्धुपाल्चोक घर भई काठमाडौं नरेफाँट बस्ने ४४ वर्षीय जगतबहादुर श्रेष्ठले सिन्धुपाल्चोक तथा अन्य स्थानका सोझासिधा मानिसहरू भेला गर्ने एजेन्टको काम गर्दै आएका थिए ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार विगत २ वर्षदेखि रसियामा बस्दै आएका राजु तामाङले मेडिना नामको कृषि फर्म मेरो हो, काम गर्न इच्छुक व्यक्तिहरूको सम्पुर्ण व्यवस्था मैले मिलाउने हो भनी विश्वास दिलाउने गरेका थिए ।

तर मेडिना नामको कृषि फर्म रसियन नागरिकको नाममा रहेको खुल्न आएको तर उक्त कृषि फर्मको नामबाट विभिन्न पदमा ८३ जनाको नक्कली डिमाण्ड लेटर तयार गरी त्यो देखाएर झुक्याइ भ्रममा पार्दै रकम उठाउने गरिएको थियो ।

अभियुक्तहरूले सिन्धुपाल्चोक, चितवन, झापा, पर्सालगायत जिल्लाका नेवार, तामाङ, चौधरी थरका कम लेखपढ भएका व्यक्तिहरू छनोट गर्ने गरेका पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मानिसहरुलाई विश्वास दिलाउनका लागि उनीहरूले काठमाडौंमा रहेका विभिन्न मेडिकल सेन्टरहरुमा पीडितको शारिरीक परीक्षण समेत गर्न लगाएका थिए ।

ठुलो संख्यामा रसिया जाने व्यक्तिहरु ल्याएमा ल्याउने व्यक्तिलाई विनारकम रसिया लगिदिने भन्ने आश्वासन समेत ठगीमा संलग्न व्यक्तिहरुले दिने गरेका थिए ।

विदेश पठाउनका लागि निजहरूको कुनै कार्यालय नभएको र व्यक्तिगत रूपमा पठाउने भनी पीडितहरूलाई आश्वासन दिने गरेका थिए । उनीहरुले हालसम्म ३९ जना पीडितबाट ४५ लाख ११ हजार भन्दा बढी रकम उठाई ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।