देश छोडी दल सोच्ने प्रवृत्तिको प्रतिफल…

देश छोडी दल सोच्ने प्रवृत्तिको प्रतिफल…


– स्वयम्भूनाथ कार्की

अति नै सोझा र सरल स्वभावका राजा वीरेन्द्र र उनलाई प्रभावमा लिएर जे पनि गराउन सक्ने रानी ऐश्वर्यलाई रिझाउन सफल पञ्चहरूले बाबुको कीर्तिमा छोराबाटै प्रहार गराउन सफल भए । उनीहरू जनतामा असन्तोष जन्माउँदै गए भने दलहरूले शासनसँग भएका स–साना असन्तोषको फाइदा लिँदै गए । कुनै काम गरेर देखाउन सक्ने अवस्थामा प्रतिबन्धको कारण दलहरू थिएनन् । तर, विरोध गर्ने ठाउँ पाउँदा विरोध भयो नै । यस्ता विरोधमा महापञ्चहरूले अन्धाधुन्ध प्रशासनिक दमन गराए ।

व्यक्तिको विरोध गर्न पाइने र सबै नेपाली बराबर हुने राजा महेन्द्रको व्यवस्था उनकै छोराको हातबाट तहसनहस गराउन पञ्चहरू नै सफल भए । जसले हमेसा राष्ट्रको पक्षमा लागेर राजालाई परम्परा र संस्कृतिमा आधारित व्यवस्था विकास गर्न सघायो, सघाएको मात्र होइन आफ्नो बुताले भेटेसम्म योगदान दिए ती महान् योगी नरहरिनाथमाथि पनि दमन गर्न चुकेनन् । यसबाट व्यवस्थाले अपजश र दलले जश पाउनु थियो– पाए । जुन राजा महेन्द्रलाई स्वागत गर्न अमेरिकी राष्ट्रपतिसमेत घन्टौँ विमानस्थलमा पर्खन्थे, तिनका छोरा काठमाडौंका सडकमा भौँतारिरहेकोे देख्न थालियो । यसमा विभिन्नका अलग–अलग मत हुन सक्छन्, तर पञ्च–कार्यकर्तालाई महापञ्च बनाउने, गाउँफर्कजस्तो सामाजिक अभियानलाई पोलिटब्युरो बनाउने अनि ‘इतर र भितर’को सोच ल्याउने बाटो राजा वीरेन्द्रकै पालमा आएको हो ।

दलको उच्च नेतृत्वले विश्वास नगरेमा ‘टिकट’ नै नपाउने अवस्था भइसकेपछि जनताले नेता बनाउन सक्ने कुरै भएन । जनताको यो प्राकृतिक अधिकार दलको नेतृत्वबाट अपहरणमा पऱ्यो ।

राजाले आफ्नो काम–कर्तव्य अरूलाई जिम्मा दिएको कसैलाई चित्त बुझेको थिएन । राष्ट्र नै आफ्नो सबै मानेर बसेका योगी नरहरिनाथले जनताको त्यही कुरा महसुस गरेर भनेका थिए, ‘छाता आफैं बोक्नुपर्छ, अरूलाई बोक्न दियो भने उसले नै प्रयोग गर्छ ।’ त्यसबापत योगी दमनको तारो हुँदा अन्धकार भविष्यको धेरैले अड्कल काटेका थिए । तर, पञ्चायतले धेरै भोग्नुपरेन, अप्रत्यासित रूपले ढल्न पुग्यो । ढल्ने बाटो त लागेकै थियो, तर अनुमानभन्दा छिटो भयो । यसले नेताहरूलाई चामत्कारिक सफलताको अनुभूति गरायो ।

जब बहुदलीय व्यवस्था पुनस्र्थापन भयो, धेरै दलका ठूला नेताहरूको देवत्वकरण हुन शुरु भयो । दलको भक्ति भनेको त्यसका नेताहरूको प्रशस्ति गाउने हो भन्ने संस्कार बस्यो । देशभन्दा दल प्रधान हो भन्ने कुरा नेपाली जनताको अवचेतनमा पस्दै गयो । पञ्चायतका तीस वर्षका डोबहरू मेटाउन सबै लागे । कुनै कुरा सही वा गलत के भएको छ भन्दा कसले गरेको छ भन्ने कुराले महत्व पायो । प्रतिबन्धित हुँदा दलहरूले जुन विरोध र विद्रोहको संस्कृति नेपालमा विकसित गरेका थिए अन्ततः त्यही नै उनीहरूलाई घाँडो भयो ।

वार्ड–वार्डमा व्यक्तिगत आधारमा निर्वाचनबाट गठन भएका स्थानीय निकाय दलहरूले थाम्न सकेनन् । जनताले विश्वास र भरोसा भएको व्यक्तिभन्दा आफूले मानेको दलले उठाएको उम्मेदवारलाई चुन्नैपर्ने अवस्था भयो । पहिले जनताले आफूले चाहेको साधारण व्यक्तिलाई जिताउन र विशिष्टलाई हराउन सक्थ्यो । अर्थात्, जनताले नेता पैदा गर्दथ्यो । दलको उच्च नेतृत्वले विश्वास नगरेमा ‘टिकट’ नै नपाउने अवस्था भइसकेपछि जनताले नेता बनाउन सक्ने कुरै भएन । जनताको यो प्राकृतिक अधिकार दलको नेतृत्वबाट अपहरणमा पऱ्यो ।

आज राष्ट्रिय झन्डाभन्दा दलको झन्डा उठाउन फाइदा देख्नेहरूको जमात बढ्दो छ । देशभन्दा दल सोच्यो भने पद, प्रतिष्ठा र पैसा प्राप्त हुन्छ भन्ने सोच बलवान हुँदै गएको छ ।

झलक्क हेर्दा यो चानचुने कुरा जस्तो लागे पनि गम्भीर कुरा हो । क–कसको जिम्मेवारी कोप्रति रहने भन्ने मानसिकता तयार गर्ने कुरा हो । त्यसैले यसले प्रतिनिधिहरूको जवाफदेही आफूलाई चुन्ने जनताबाट हटाएर ‘टिकट’ दिने नेतृत्वतर्फ फर्कायो । यसले आफ्नोे अधिकार खोसिएको महसुुस हुनु स्वाभाविक नै थियो । त्यसैले जनताले छोटो समयमा नै बहुदलीय संसदीय प्रणालीविरुद्ध हतियार उठाएको माओवादी विद्रोहलाई आंशिक समर्थन गर्न पुग्यो । त्यो विद्रोहको सुरक्षित अवतरण भएको भनिएपछि पनि जनताले आफूबाट खोसिएको अधिकार प्राप्त गर्न सकेन ।

दलीय सोचले नेपाली जनतालाई नेपाली भएर बाँच्न दिएन । विभिन्न दलका समर्थक बनाउँदै शुरु गरेको नेपाली–नेपालीबीचको यो विभाजन बिस्तारै जातीयता, क्षेत्रीयता आदिमा पनि बढ्दै गएको छ । आज राष्ट्रिय झन्डाभन्दा दलको झन्डा उठाउन फाइदा देख्नेहरूको जमात बढ्दो छ । देशभन्दा दल सोच्यो भने पद, प्रतिष्ठा र पैसा प्राप्त हुन्छ भन्ने सोच बलवान हुँदै गएको छ । तर, यो भनेको हाँगा भाँचेर पानीमा डुबाई ताजा राख्न खोजिएजस्तै हो ।