भोकाएकालाई सिड्नीमा खुवाउँदै पोखराका नवीन

भोकाएकालाई सिड्नीमा खुवाउँदै पोखराका नवीन


– राजन घिमिरे, अस्ट्रेलिया

दुई वर्ष पहिला अस्ट्रेलिया आइपुगेका पोखराका एक उत्साही कलाकार हुन् नवीन घायल । त्यसो त उनले पोखरामा लामो समय पत्रकारिता पनि नगरेका भने होइनन् । २०६० सालमा स्थापना भएको चलचित्र पत्रकार संघ कास्की शाखाको उपाध्यक्ष समेत रहेका कलाकार घायलले तीसवटा भन्दा बढि म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । राष्ट्रिय नाटक महोत्सव २०५७ मा मञ्चन भएको नाटक ‘अंगना’बाट आफ्नो कलाकारिता शुरू गरेका घायलले २०६५ मा आफ्नै लेखन र निर्माण मा चलचित्र नारीको वेदना पनि बनाएका थिए ।

उनी पोखराको हिमचुली एफएममा मिठोसँग समाचार पढ्थे । उनको वाचनमा शुद्वता थियो । त्यसताका गाउँ–गाउँमा एफएम रेडियो सुन्ने चलन निकै बढेको थियो । एफएम रेडियोमा जागिर खान जानुअघि उनले पोखराको दैनिक जनमत, भिजन नेपाल र पोखरापत्रमा रिपोर्टरको रूपमा काम गर्न भ्याएका थिए । नेपाली विषयमा एम.ए. गरेका घायलले ‘नारीको वेदना’, ‘अनिकाल’, ‘महाकाल’, ‘सहानुभूति’लगायत चलचित्रको स्क्रिप्ट समेत लेखिसकेका छन् ।

हाल अस्ट्रेलियाको सिड्नीस्थित रकडेलमा बसोबास गर्दै आएका घायल अबको दुई वर्षपछि पुरै नेपाल फर्कने सोचमा छन् । उनी भन्छन्, ‘नेपाल गएर सिनेमा बनाउनु छ ।’

‘कस्तो सिनेमा ?’ भन्ने प्रश्नमा उनी भन्छन्– ‘झोला, पशुपतिप्रसाद र कबड्डी–कबड्डी हेरेपछि जन्मिएको स्क्रिप्ट हो, यो एउटा विशुद्व वियोगान्त मुभी हुनेछ’, उनले थपे । आफैले स्क्रिप्ट लेखेर बनाउन लागेको यस मुभीको नाम द ब्ल्याक राईस राख्ने सोच उनले बनाएका छन् ।

फिल्ममा लगानी गर्ने प्रोड्युसर पनि उनले अस्ट्रेलियामा भेट्टाइसकेका छन् । भन्छन्– ‘फिल्ममा कसैले पनि पूरा लगानी गर्न पाउने छैन, तीन जनाको संयुक्त लगानीमा फिल्म बन्नेछ ।’

अस्ट्रेलिया आइसकेपछि एउटा न एउटा काम सबैले गर्नै पर्यो नि भन्दै आफु उबर ईट्सको काममा निकै रमाएको उनी बताँछन् । ‘मोबाइलको एप हेरेर अर्डर आएको दोकानमा पुगेर खाना डेलेभरी गर्ने हो, भोकाएका हरूलाई खाना लगेर दिँदा उनिहरू खुशी भएर धन्यवाद दिन्छन्’, उनको तर्क थियो । कतिपय अवस्थामा भोकले आत्तिएकाहरू घरबाहिरै खाना कुरेर बस्ने र यदि छिटै पुर्याइयो भने टिप्स समेत पाइने गरेको घायलले बताए । ‘एक प्रकारको धर्म हुने काम नै गरेको छु, कुनै एकदिन यसको पनि फल मिल्ला कि ?!’, आशा व्यक्त गर्छन् घायल ।

अस्ट्रेलियामा आफ्नो काम र नामलाई सँगसँगै आगाडि बढाइरहेका घायलले निकट भविष्यमै अष्ट्रेलियामा गायिका बिन्दु पौडेलको ‘तिम्रो र मेरो जोडी मिल्छ रे’ बोलको गितको म्युजिक भिडियोमा समेत खेल्ने निश्चित भएको बताए । उक्त गित सिड्नीको ओपेरा हाउस, लुना पार्क र लापिरियस बीचको वरपर छायाङ्कन गरिने समेत उनले बताए ।

नेपालमा रहँदा कुन्ती मोक्तान, सपनाश्री, हरिदेवी कोइराला कर्णदास, अन्जु पन्त, सत्य–स्वरूप, प्रमोद खरेल, बिरही कार्की र सागर शाह लगायतका गायक–गायिकाहरूको गीतको म्युजिक भिडियोहरूमा नायकको रूपमा अभिनय गरेका घायलले केही म्युजिक भिडियोहरूको निर्देशन समेत गरेका छन् ।

भारत, मकाउ, थाइल्यान्ड, सिंगापुर, मलेसिया लगायतका देशहरूको भ्रमण गरिसकेका कलाकार घायलले अस्ट्रेलियामा धेरै कुराको अनुभव बटुलिसकेको बताउँछन् । उनी सम्झन्छन्– ‘मुख्य कुरो समय र कामको महत्व बेसरी बुझेँ, हामीले नेपालमा धेरै समय बसेरै खेर फालेका रहेछौँ, नेपालमै यहाँ जस्तै मरिमेटेर काम गर्ने हो भने पैसा त्यहीँ कमाउन सकिन्छ तर हामीले सधै भन्ने गर्यौँ– नेपालमा के छ र ? केही पनि छैन ।’

चलचित्र पत्रकार, लेखक, कलाकार, निर्देशक, जे भने पनि उनलाई परिचय कम हुन्छ । तपाईं किन अस्ट्रेलिया आउनुभएको भनी सोध्दा उनले भने– ‘देश–विदेशको अनुभव लियो भने मान्छे खारिन्छ भन्छन्, हो म त्यही अनुभव लिन म यहाँ आएको हुँ । मलाई न त पिआरको लोभ छ न अस्ट्रेलियन सिटिजनको । मैले भनिसकेँ अबको दुई वर्षपछि म आफ्नै भुमिमा हुने छु ।’ भन्नैपर्दा, उनी नेपालमा हुँदा एलआईसी नेपाल नामक बिमा कम्पनीमा पनि काम गर्थें । कलाकारिता बाहेक बचेको समयमा उनले वीमा कम्पनीमा काम गरेर विशेषगरी पोखरामा छुट्टै ख्याति कमाएका थिए ।

भेटको क्रममा उनले पङ्क्तिकारलाई धेरै कुरा बताए । नामको पछाडि घायल किन राखेको भनी सोध्दा उनले यसको लामो कहानी छ मात्रै भने । झट्ट हेर्दा मिलनसार अनि रमाइलो लाग्ने नवीन अस्ट्रेलियामा उबर ईट्सको अलवा हेभनक्याभ नामको कम्पनीमा पनि काम गर्ने गर्छन् । बस्दै जाँदा अस्ट्रेलिया सारै रमाइलो, सफा, अनि सुविधासम्पन देश लाग्ने बताए पनि उनले आफ्नो देश नेपाललाई भने भित्रभित्रै मिस गरिरहेका रहेछन् । भेटको क्रममा उनले भने, ‘संसारको जुन कुनामा पुगे पनि आफ्नो देशको याद भने बारम्बार आउँदो रहेछ ।’

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको सामाजिक शन्देशमुलक गितहरूको म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरेका घायलले नेपालमा छँदा सोही संस्थालेले निर्माण गरेको चलचित्र अग्निदहनमा पनि अभिनय गरेका थिए । चलचित्र अग्निदहनले नेपाल सरकारको तर्फबाट विशेष चलचित्र भनेर सम्मान समेत पाइसकेको उनले बताए । त्यस्तै, नवीनले अभिनय गरेका म्युजिक भिडियोहरू मध्ये चर्चित गायिका अन्जु पन्तको स्वर रहेको सन्देशमुलक गित मान्छे बोक्सी हुन्न कहिल्यै बोलको भिडियो युटुबमा सर्वाधिक रूचाइएको भिडियो रहेको छ ।

अस्ट्रेलियामा हुने हरेक सांगीतिक कार्यक्रमहरूमा समेत आफ्नो उपस्थिति जनाउने गेरका नवीन परेको बेला कार्यक्रम सञ्चालन गर्न समेत पछि पर्दैनन् । यतिबेला उनी सिड्नीमा अक्टोबर ६ मा हुने दशै साँझ २०१८ को व्यापक तयारीमा जुटिरहेका छन् । बोल्ने भाषामा प्रखर मानिएका नवीनले सर्जक तथा गीतकार को वदशरण उपाध्यालाई कलाकारिताको प्रेरक ब्यक्तित्व मान्छन् ।