सर्वाधिक शक्तिमानको हतास मनस्थिति

सर्वाधिक शक्तिमानको हतास मनस्थिति


– स्वयम्भुनाथ कार्की

नयाँ नेपालको नयाँ संविधानअन्तर्गत भएको निर्वाचनले एक्लो ठूलो पार्टीको रूपमा नेकपा एमालेलाई पुऱ्याइदियो । वामपन्थी दलहरूलाई जोड्दा त नयाँ नेपालमा विश्वमा समाप्त हुँदै गएका कम्युनिस्ट नेपालमा उदाए । सङ्घमा मात्र होइन प्रदेश र स्थानीय तहमा समेत केही अपवादबाहेक वर्चश्व वामपन्थीहरूकै रहेको छ । सम्पूर्ण नेपाल वामपन्थीहरूको वैधानिक कब्जामा रहेको छ । त्यसमथि झन् माकेसमेत एकीकरण भएर नेकपा (नेकपा) भएपछि त संविधानअनुसार जे पनि गर्न सक्ने हैसियत छ । प्रमुख प्रतिपक्षी भनिएको नेका कुस्तीमा चोट खाएर रनाहा लागेको अवस्थामा छ । सत्ताबेगर राजनीति नै समाप्त हुन्छ भन्ने आधुनिक पुस्ता भएको नेका बीपीलाई राजाले सुन्दरीजलमा स्कोपमार्फत पठाएको प्रस्ताव अस्वीकार गर्ने बीपी थाहा छैन (यो घटना बीपीको आत्मवृत्तान्त किताबमा लिपिबद्ध छ) ।

०१७ सालमा राजा महेन्द्रले शासन हातमा लिँदा भारत खुसी थिएन । उनको त्यो कदमको आलोचना भारतीय संसद्मा समेत भएको थियो । यो कुरा त्यहाँको संसदीय अभिलेखमा पनि छ । केही राजनीतिक व्यक्तिहरू आफूतर्फ ताने पनि दलहरूको विमति कायम नै रहेको थियो । सेनाको डर हुनु–नहुनु अलग कुरा हो, तर त्यो दिन प्रधानमन्त्रीलगायत अन्यलाई नियन्त्रणमा लिनबाहेक अरू बेला सेना ब्यारेकमै थियो । नेकाको मुक्तिसेनालाई रक्षादल अनि पछि नेपाल पुलिस भनेर गठन भएकोले सम्भवतः बीपीलगायत नेताहरूलाई नियन्त्रणमा लिने काम लगाउन हिचकिचाहट भएको हुन सक्छ । शुरुमा धेरै विरोध भएको भए पनि २ वर्षभित्र मुलुकलाई एक किसिमको पद्धति दिएका थिए जो करिब ३० वर्ष चल्यो ।

वर्तमान सरकारलाई राजा महेन्द्रभन्दा धेरै सहुलियत छ । शुरुमा घुर्की देखाएको भारतीय प्रधानमन्त्री बारम्बार नेपाल भ्रमण गरेर भारत यो सरकारको साथमा रहेको सन्देश दिँदै छन् । पहिले जस्तो दुई छिमेकीहरू अर्कोतर्फ ढल्केको भनेर मुख फुलाएको अवस्था पनि छैन । सेनाको सम्पूर्ण साथ कुरामा मात्र होइन व्यवहारमा नै देखिएको छ । राजाको पालामा नेपाली जनतालाई गोली नचलाउने सेनाले संविधान लागू हुँदा आफ्नो त्यो सोच छोडेको छ । त्यसमाथि सेनाको परम्परामा नै नभएको सरकारको साथ दिने वक्तव्यबाजी सेनापतिहरूले गर्दै आएका छन् । अर्थात् यो सरकारलाई आफूले चिताएको कुरा गर्न रोक्ने कुनै शक्ति देश–विदेश कतै छैन ।

शक्ति सन्तुलनको नाममा न्यायपालिका केही गर्न सक्ने अवस्थामा छैन भन्ने कुरा महाअभियोग र महाअभियोगको धम्कीले देखाएको छ । पाखा लगाइएको भनेको परम्परागत शक्ति राजसंस्था जनताको जो मर्जी भनेर बसेको छ । नेपाली भएको कारणले बेलाबेलामा राष्ट्रको चिन्ता व्यक्त गर्नेबाहेक त्यो चिन्ता हरण गर्नेतर्फ कुनै प्रयत्न देखिएको छैन । यो वर्तमान सरकारलाई निष्कङ्टक अवस्था हो, उसलाई कुनै किसिमको अंकुश नै छैन । यस्तो बेलामा राजा महेन्द्रले ११ वर्षमा गरेको काम ५ वर्षमा गर्न सक्नुपर्ने हो । तर, सरकार सत्तामा आएको दुई मधुमासबराबरको अवधि सकेर तेस्रोको पनि चौथाइ पुग्दासमेत राम्रोसँग खुट्टा टेक्न सकेको छैन ।

सरकारले सामान्य आलोचनाहरूलाई आफूमाथिको ठूलो आक्रमण ठानेको छ । काम गरेर देखाउनुभन्दा त्यस्ता आलोचनाहरूको ओठेजवाफ दिनु आफ्नो पहिलो काम ठानेको छ ।

सरकारले सामान्य आलोचनाहरूलाई आफूमाथिको ठूलो आक्रमण ठानेको छ । काम गरेर देखाउनुभन्दा त्यस्ता आलोचनाहरूको ओठेजवाफ दिनु आफ्नो पहिलो काम ठानेको छ । यसै क्रममा प्रधानमन्त्री विरोधीमाथि अरिंगाल भएर जाइलाग्न निर्देशन दिन पुगे । पछि अभिव्यक्तिको कटु आलोचनाले प्राथमिक विद्यालयको विद्यार्थीले जस्तो लौ त अरिंगाल नभन्ने महुरी भन्ने भन्न पुगेका छन् । यो अरिंगालको पहिलो चिलाई भने विदेशको निजी भ्रमणमा रहेका राजाका समर्थकहरूलाई परेको छ । भारतीय लोकसभाको निर्वाचनपछि म राजा हुन्छु भनेर भने भन्ने अरिंगाले हल्ला चलाइएको छ । राजाले छिटै कु गर्दै छन् अरे भन्ने हल्ला चलाइएको छ ।

यसले उत्साहित हुने केही राजावादी होलान् भने केही यसले राजाको मान घटाएको मान्ने पनि होलान् । तर, स्वयम् राजालाई यस्ता झिनामसिना हल्लाले फरक पार्दैन । किनभने उनले जीवनको सबैभन्दा कठिन आरोप र समय भोगिसकेका छन् । अहिले नेपाली जनताको बदलिएको मन र साथ पनि अनुभूति गरेका छन् । आफू फर्कन चाहेको अवस्थामा नेपालीको साथ नै पर्याप्त हुने कुनै विदेशीको साथको खासै महत्व नहुने बुझेका छन् । यो कुरा सबैलाई थाहा नै छ । तैपनि हतास मनस्थितिले सरकार आफ्नो अकर्मण्यताको भारी त्यहाँ बिसाउन चाहन्छ ।

सरकारका जिम्मेवारहरू नै अहिले मुलुकको अवस्था एकदमै राम्रो रहेको, कर कतै नबढेको भन्दै भाषण गर्दै हिँडेका छन् । सबै हल्ला यो व्यवस्था असफल पार्न चलाइएको र त्यो भ्रममा नपर्न भन्दै हिँडेका छन् । अनि सर्वसाधारण भने पोहोर ३० कर तिरेको र यसपालि ३००० रु. कर तिरेको दुवै रसिद आफ्नो हातमा लिएर रनभुल्ल परेको छ । हतास मनस्थितिको रक्षा गर्न खटिएका पूर्वअरिंगाल हाल माहुरीहरू बिस्तारै झिँगामा रूपान्तरण हुनुभन्दा पहिला यो सर्वाधिक बलियो सरकारले काम गरेर देखाउनुपर्छ । ढुक्क भए हुन्छ यसलाई बाहिरबाट खतरा पटक्कै छैन ‘सबै वाम एक ठाम’ नीतिको कारणले कुनै खतरा भयो भने त्यो जनताको जिम्मेवारी होइन ।