एनआरएन बेल्जियमलाई गरेन दूतावासले सहयोग

एनआरएन बेल्जियमलाई गरेन दूतावासले सहयोग


– सन्तोष न्यौपाने, बेल्जियम

‘बेल्जियमको नेपाली समाजमा हुने घटनामा नेपाली दूतावास बेल्जियमले उचित सहयोग गरेको छैन । अझ पीडित महिलाको केसमा दूतावास पन्छिने काम गरेको छ,’ एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले आफ्नो दुःखेसो पोखे ।

एनआरएन बेल्जियममा लोक दाहालले कार्यकाल सम्हालेको १ वर्ष भएको छ । यो समयमा एनआरएन बेल्जियमलाई दूतावासको उचित सहयोग नमिल्दा नेपाली महिलाको समस्या समाधानमा ढिलासुस्ती भएको अध्यक्ष दाहालले बताए ।

बेल्जियमस्थित नेपाली दूतावासको अगुवाइमा नेपाल फेस्टिभल, ब्रसेल्स ट्रेड फेयरलगायतका कार्यक्रम हुने गरेका छन् । यसमा दुवै एकै रथका दुई पाङ्ग्रझैँ बनेर काम गर्दछ्न् । तर, केही समयअघि सम्पन्न एनआरएन बेल्जियमको वार्षिक साधारणसभामा राजदूत उपस्थित नहुँदा यी दुईको दूरी बढ्न लागेको देखिन्छ । ‘राजदूत सामान्य कार्यक्रममा उपस्थित हुन्छन्, तर एनआरएन कार्यक्रमलाई उनले महत्व दिँदैनन्,’ अध्यक्ष दाहालले भने, ‘यो कार्यले अबका दिनमा दूतावासले आयोजना गर्ने कार्यक्रम के गर्ने भन्ने प्रश्न तेस्र्याएको छ ।’

दूतावासको असहयोग त छँदै छ, त्यसमा पनि पदाधिकारी आफ्नै काममा व्यस्त हुँदा उनीहरूको अनुपस्थिति रहने गरेको छ । १ वर्षको अन्तरालमा एनआरएन बेल्जियमको ९ वटा बैठक बसे । त्यसमा सबैभन्दा कम उपस्थित हुनेमा सचिव प्रेम तिमिल्सिना रहेका छन् । उनले आफ्नो कार्य व्यस्तता देखाउँदै उपस्थित हुने गरेका छैन । अहिलेसम्म उनी तीनवटा बैठकमा मात्रै गएका छन् । त्यस्तै, अहिलेसम्म कुनै पनि बैठकमा उपस्थित नहुने र कुनै जानकारी नदिनेमा युवा संयोजक रविन पण्डित रहेका छन् । उनलाई एनआरएन बेल्जियमले स्पष्टीकरण मागेको छ । यसले एनआरएनप्रति पदाधिकारी कत्तिको जिम्मेवार छन् भन्ने पनि प्रस्ट पारेको छ ।

निर्वाचनपछि पदाधिकारीको सहयोग नहुँदा हतोत्साहित भएका अध्यक्ष दाहाल अहिले अलि हौसिएका छन् । यो एक वर्षको कार्यकालमा एनआरएन बेल्जियमको आ–आफ्नै कार्यालय स्थापना भएको छ । त्यसका साथै नेपालमा हुने दैवी प्रकोपको सहयोगार्थ रकम जुटाएर नेपाल पठाउने काम गरेको छ । यसभन्दा पनि ठूलो र सम्झनलायक काममा बेल्जियममा बसोबास गरिरहेका र आफ्नै श्रीमान्बाट पीडित महिलाको उद्धारको लागि दाहाललगायतको समूह लागिपरेको छ । जसले गर्दा एनआरएन बेल्जियमको शाख उच्च बनाउने काम भएको छ ।

रोजगारी र अध्ययनको सिलसिलामा फ्रान्स हुँदा बेल्जियम आइपुगेका सुजन देवकोटा मानसिक रोगले ग्रस्त थिए । उनको बेल्जियममा उपचार हुन सम्भव थिएन । तर, एनआरएनकै पहलमा उनको उपचार गरेर नेपालसम्म पु¥याएर परिवारलाई हस्तान्तरण गर्ने काम गरेको थियो । यस्ता परोपकारी कार्यमा एनआरएन बेल्जियम युरोपमा अगाडि देखिन्छ ।

एक वर्षको कार्यकालमा उपलब्धिमूलक कार्य गरेको एनआरएन बेल्जियम अब लुम्बिनीमा वा अन्य नेपाली र विदेशी पर्यटक जाने स्थानमा सम्झना गर्न लायक भवन वा चाहिने अत्यावश्यक चिजको निर्माण गर्ने वा प्रदान गर्ने योजनामा रहेको छ ।

‘हामीसँग केही रकम छ । यो रकम अब छिट्टै नेपालमा लागू गरेर एनआरएन बेल्जियमको चिनो कालान्तरसम्म राहिरहने कार्य गर्ने योजनामा छौँ,’ अध्यक्ष दाहालले बताए ।

दूतावासको असहयोगबिना पनि उपलब्धिमूलक कार्य गरेको एनआरएन बेल्जियमको कार्यले एनआरएनको शाख केही हदसम्म जोगाउन सफल भएको छ । यसतर्फ अरू शाखाले पनि सोच्ने कि ?