पोखरेल भन्छन्– अहिले विकास र समृद्धिका लागि एक भएर उभिने बेला हो

पोखरेल भन्छन्– अहिले विकास र समृद्धिका लागि एक भएर उभिने बेला हो


कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतंकको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताएका छन् ।

मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अवसरमा उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्तिविरुद्ध सबै एक भएर उभिनुपर्ने बताएका छन् ।

काबा प्रधानमन्त्री पोखरेलले भने, ‘राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एक भएर भएर उभिनु जरुरी छ । यो राष्ट्रिय अभियानमा सामेल हुन म सबैमा आग्रह गर्दछु । सबै भाषा, धर्म तथा संस्कृति मान्ने जनता र मुलुकको हितका लागि एकै ठाउँमा उभिनुको विकल्प छैन ।’ उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे ।

मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्ने बताए । काबा प्रधानमन्त्री पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर अवलोकन गरी जानकारी लिनुका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लास्टिक उद्योगको पनि अवलोकन गरे ।