परियोजना नै सहकारीलाई हस्तान्तरण

परियोजना नै सहकारीलाई हस्तान्तरण


तिलाचन पाण्डे, गुल्मी

मालिका गाउँपालिका वडा नं ६ अर्जैमा हेफर ईन्टरनेशनल नेपालद्वारा संचालित कार्यक्रमअन्तर्गत बाख्रा विकास परियोनामा रहेका २३ वटा समुह सहकारीलाई हस्तान्तरण गरिएको छ । करिव तीन वर्षदेखि साविकको क्षेत्र नं ३ सदरमुकामदेखि विकट भएको अर्जैमा महिलाहरुको आत्मनिर्भरता र व्यवसायिकतालाई मध्यनजर राख्दै अर्जैमा हेफरको आर्थिक सहयोगमा सृजनशील सामुदायिक बिकास केन्द्रको समन्वयमा बाख्रा विकास परियोजना संचालनमा आएको हो ।

अर्जैमा ६ वटा मूल समुह र १७ वटा उपहार समुह गरी कुल २३ समुहमा कुल ५८६ घरधुरी संलग्न रहेका थिए । अहिले सो समुहमा रहेका ब्यक्तिलाई अझ ब्यवसायिक र आत्मनिर्भर बनाई संगठित गर्नका लागि मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाको रुपमा परिणत भएको छ ।

यस्तै, हेफर इन्टरनेशनल नेपालद्राद्वारा संचालित अमरपुरमा रहेका परियोजनाद्वारा संचालित ७ वटा मुल समुह, २३ वटा उपहार समुह गरी ७६८ घरधुरी संलग्न रहेका समुहहरुलाई अमरपुर कृषि तथा पशुविकास महिला सहकारीका रुपमा दर्ता गरी समुहमा रहेका फाईल , जिन्सीसहित सम्पुर्ण जिम्मेवारी सहकारीलाई हस्तान्तरण गरिएको नवप्रभात युवा संघका कार्यसमिति सदस्य धातानन्द भुसालले जानकारी दिए ।

परियोजना लागु भएपश्चात त्यस क्षेत्रका महिलाहरुको आर्थिक लगायत सामाजिक, व्यक्तित्वमा समेत आमुल परिवर्तन आएको परियोजनाका बाख्रा विशेषज्ञ डा. लक्ष्मण घिमिरेले बताए । उनका अनुसार पहिले महिलाहरुले घरका सानातिना कामका लागि पनि श्रीमानको मुख ताक्नुपर्दथ्यो तर अहिले उनीहरुले बीस, पच्चीस हजारसम्म आवश्यक परे लगानी गर्न सक्ने भएका छन् ।

त्यतिमात्र नभई पहिले घरको चुलोचौकोमा सीमित रहेका महिलाहरु अहिले सामाजिक कार्यका लागि र हजारौँ मानिसहरुको अगाडि ढुक्कसंग आफ्ना कुरा राख्न सक्ने भएका छन् । मिलीजुली कृषि तथा पशुविकास महिला सहकारी संस्थाकी अध्यक्ष रिता भण्डारीले महिलाहरु आत्मनिर्भर पनि बनेका र व्यक्तित्व विकास पनि भएकाले सबै महिला संगठित भई अब यस सहकारीलाई मालिका गाउँपालिकाकै नमुना तुल्याउँदै पछि गुल्मी जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनाउने गरि लागिरहेको दाबी गरिन् ।

परियोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले परियोनाले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै परियोजनाको मोडलबाट काम गर्दा समाजमा महिलाहरुको परिवर्तन आएकाले यस समय अवधिमा स्थानीय स्तरदेखि केन्द्रसम्मको सरकारले कृषि र पशुपालनको माध्यमबाट देशको आिर्थक विकास र परिवर्तन सम्भव भएकाले ब्यवसायिक रुपमा लाग्न आग्रह गर्दै सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।