नेपाली उद्यमीले विदेशी वस्तुसंग प्रतिस्पर्धा गर्नुपर्छ :मन्त्री पण्डित

नेपाली उद्यमीले विदेशी वस्तुसंग प्रतिस्पर्धा गर्नुपर्छ :मन्त्री पण्डित


सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिस्पर्धा गर्ने खालका उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रजापति (कुम्हार) सङ्घको प्रथम उपत्यका अधिवेशनको उद्घाटन गर्दे उनले माटोमा काम गर्ने नेपाली उद्यमीले जापान तथा चीनको माटोबाट उत्पादीत वस्तुसंग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

मन्त्री पण्डितले पछ्यौटेपनले ग्रसित माटोमा काम गर्ने नेपाली दाजुभाइलाई सरकारले सहयोग र समर्थन गर्ने पनि बताए ।

नेपाल प्रजापति (कुम्हार) सङ्घका अध्यक्ष रामानन्द पण्डितले महाभारत र लिच्छिवीकालदेखि नेपालका प्रजापति तथा कुम्हार जातिले माटोको भाँडा बनाई दैनिक जीवन निर्वाह गर्दै आएको बताए ।

स्टील, आल्मोनियम तथा प्लाष्टिकको भाँडाको प्रयोग बढ्दै गएपछि माटोको भाँडा बनाउने पेशा सङ्कटमा परेको उल्लेख गर्दै उनले अहिले पनि धार्मिक काममा माटोको भाँडा नै प्रयोग हुने गरिएको जानकारी दिए ।

काठमाडौँ, झापा, सप्तरी, पर्सा, बारा, रौतहट, रुपन्देही, नवलपरासीलगायत क्षेत्रमा कुम्हार, कुमाल, प्रजापति, पण्डित, कोहार आदि नामले परिचित कुम्हार जातिले माटोको भाँडा बनाउने पेशा अङ्गाल्दै आएको छ ।

नेपालमा कुम्हार जातिको जनसङ्ख्या एक लाख ५० हजार भए पनि विसं २०४६ को जनगणनामा ७४ हजार तथा २०६८ को जनगणनामा अझै घटाएर ६२ हजार देखाइकोमा उनीहरुको असन्तुष्टि थियो ।