मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना

मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना


नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।

घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८ औं थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।

‘खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार कार्यान्वयन प्रक्रिया अघि बढेको छ’, मन्त्री विश्वकर्माले भने, ‘यसका लागि स्थानको सम्भाव्यता अध्ययन भइरहेको छ ।’ उनले मुस्ताङमा थातथलो भएका थकाली समुदायको ‘आर्चरी खेल’ प्रर्वद्धनमा सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकूद र सँस्कृति संरक्षणमा थाक खेलकूद प्रतियोगिताले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

उक्त प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, आर्चरी, मिस मुस्ताङ, थकाली भाषामा गीत र नृत्यको प्रतियोगिता गरिने थाक खेलकूद विकास सङ्घका अध्यक्षसमेत रहनुभएका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिए ।

प्रदेश सांसद महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङल्यामु गुरुङलगायत स्थानीय तहका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

सबै प्रतियोगितामा मुस्ताङका आठ क्लबले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक विजेता निर्मल स्पोर्सट क्लब लेतेले जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्डसहित नगद पुरस्कार प्राप्त गर्नेछन् । सोही अवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रदर्शनीको समेत आयोजना गरेको छ ।