राखेप हाफम्याराथनमा गोपीचन्द्र पहिलो

राखेप हाफम्याराथनमा गोपीचन्द्र पहिलो


नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफम्याराथनमा पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित हाफम्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घन्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । विजयसँगै पार्कीले ५० हजार नगद पुरस्कार हात पारे ।

चौथोपटक हाफ म्याराथनमा सहभागिता जनाएका पार्कीले दोस्रोपटक स्वर्ण जितेका हुन् । यसअघि गोपीले २०७२ सालमा भएको कान्तिपुर हाफम्याराथनमा पहिलोपटक स्वर्ण जितेका थिए । २०७० को कान्तिपुर हाफम्याराथनमा गोपीले पहिलोपटक हाफम्याराथन सहभागिता जनाएका थिए । त्यसमा उनले कांस्य पदक जितेका थिए । त्यस हाफम्याराथनमा गोपीले निर्धारित दूरी १ घन्टा ७ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । जुन टाइमिङ गोपीको व्यक्तिगत उत्कृष्ट हो । २०७१ को कान्तिपुर हाफम्याराथनमा गोपीले दोस्रो स्थान हासिल गरेका थिए ।

हाफम्याराथनको राष्ट्रिय कीर्तिमान खिमु गिरीको नाममा छ । उनले जर्मनीमा सन् २००२ मा १ घन्टा ७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । राखेपा हामम्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए । उनले १ घन्टा ११ मिनेट ०५ सेकेन्डमा दौड पूरा गरे । तेस्रो भएका सेनाकै हरिकुमार रिमालले १ घन्टा १२ मिनेट २५ सेकेन्ड समय लगाएका थिए । हरि १२औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटर दौडका कांस्य विजेता हुन् ।

अर्का सेनाका खेलाडी खगेन्द्र भाट चौथो भए । उनले निर्धारित दूरी पूरा गर्न १ घन्टा १२ मिनेट ४३ सेकेन्ड समय लगाए । किरणसिंह बोगटीले पाँचौँ र खिमबहादुर खत्रीले छैटौँ स्थानमा दौड टुंगाएका थिए । एपीएफका द्वयले क्रमशः १ घन्टा १२ मिनेट ५४ सेकेन्ड र १ घन्टा १४ मिनेट ०२ सेकेन्ड सयम निकालेका थिए । दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौँ र छैटौँले समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । त्यसअघि म्याराथनको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए । त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको म्याराथनमा ९५ पुरुष खेलाडी सहभागी थिए ।

संविधान दिवसकै अवसरमा राखेपले आयोजना गरेको मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल रातोले जित हात पा¥यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातोले नेपाल नीलोलाई ६ विकेटले पराजित गरेको थियो ।