जेफ बेजोसद्वारा ‘बेजोस डे वान फन्ड’ घोषणा

घरबारविहीन र न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि बेजोसले छुट्याए दुई अर्ब डलर

2 Shares

विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्विट गरी सुझाव माग गरेका थिए । उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले निर्माण गरेको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड’ राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिए । उनको प्राथमिकता ‘पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु’ रहेका छन् ।

बेजोसले दुई अर्ब डलर केवल शुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताए । ‘मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ,’ उनले भने ।

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरूलाई सहयोग गर्ने बेजोसले बताए । उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्तिसहितको सुविधा उपलब्ध गराउन कोषले एक बृहत् सञ्जालमार्फत काम गर्ने स्पष्ट गरे ।

‘अमेजनको कार्यशैलीझैँ प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ,’ बेजोसको भनाइ छ ।

बेजोसले गत वर्ष ट्विटरमार्फत गरिएको अनुरोधबमोजिम प्राप्त हजारौँ नवीन सुझावमध्येबाट यी दुई क्षेत्र पहिचान गरेका हुन् ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरू नयाँनयाँ सेवा थप गरेको छ ।

2 Shares

प्रतिक्रिया