सिड्नीमा गजल मुशायरा आयोजना हुँदै

सिड्नीमा गजल मुशायरा आयोजना हुँदै


राजन घिमिरे, अष्ट्रेलिया

बाबा एजुकेशन कन्सल्टेन्सीको प्रयोजन र गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा ‘गजल मुशायरा २०१८’ आयोजना हुने भएको छ ।

सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिँदै आएको सम्पूर्ण गजल कार्यक्रम ‘गजल मुशायरा’को पाँचौ श्रृंखला ‘गजल मुशायरा २०१८’ आगामी २३ सेप्टेम्बर आइतबारका दिन सिड्नी हर्स्टभिलस्थित सिभिक थिएटरमा आयोजना हुने भएको हो ।

नेपाली गजल लेखन र बाचनको एउटा साझा र लोकप्रिय थलोको रुपमा गजलप्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृंखला यहाँसम्म आइपुग्दा सिड्नीमा चारवटा र सिड्नीबाहिर ब्रिसबेन र एडिलेडमा १-१ वटा गरि ६ वटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

गजल मुशायराको यो पाँचौ श्रृंखला एउटा विशेष श्रृंखला हुनेछ, जसमा अस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले २र२ वटा गरी ५० वटा गजल बाचन गर्नेछन् ।

गजल मुशायरा २०१८ मा सहभागीहुने गजलकारहरुमा सिड्नीबाट गणेश गौतम, गणेश कँडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श खत्री, ऒमकार अधिकारी र बिष्णु प्रसाद अधिकारी, बौरल, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, मकाई, क्विन्सल्याण्डबाट सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमला रहेको छन् ।

कार्यक्रममा गजल बाचनको अतिरिक्त निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जिसीको गजल नृत्य एबम निशान ढकाल रियाजको गजल गायन पनि समावेश गरिएको छ ।

कार्यक्रममा सहभागी भई गजलवाचन, गायन र नृत्यको मज्जा लिनुका साथै नेपाली गजलको प्रबर्धन गर्ने यो प्रयासमा सहभागी भैदिनुहुन गजल मुशायरा परिवारले सबैमा अनुरोध समेत गरेको छ ।