बीपीले साइनाइड बोकेका थिए : शैलजा

20 Shares

(बीपी बाँचिरहेका भए यतिबेला १०५ वर्षका हुनुहुने थियो । अर्थात्, भदौ २४ जननायक बीपी कोइरालाको जन्मदिन । नेपाली काङ्ग्रेसका संस्थापक बीपीको बाटो आज उहाँकै पार्टीले हिँड्न छोडेको छ । जब कि नेपाली काङ्ग्रेसलाई एउठा प्रजातान्त्रिक पार्टीको रूपमा पहिचान दिलाउन बीपीको ऐतिहासिक भूमिका र योगदान छ । यसका लागि बीपीले कति दुःख, सङ्घर्ष र मान–अपमानका भारी बोक्नुपऱ्यो । तात्कालिक शासन र शासकबाट कति प्रताडना व्यहोर्नुपऱ्यो, त्यसको लोखाजोखा राख्न वर्तमान काङ्ग्रेस नेतृत्वले सकेको छैन । बीपी र बीपीको अभियान या महत्व बुझेको दुर्लभ पात्रमा पर्नुहुन्थ्यो स्वर्गीय शैलजा आचार्य । प्रजातान्त्रिक अभियानमा बीपीलाई दिलोज्यानले साथ दिएकी उनै नेतृ शैलजासँग पत्रकार देवप्रकाश त्रिपाठीले २६ वर्षअघि गर्नुभएको कुराकानीमा आधारित सामग्री बीपीको १०५औँ जयन्तीका अवसरमा सान्दर्भिक हुने ठानेर प्रकाशित गरिएको छ ।)

सम्पूर्ण जीवन राजनीतिमा होम्न तयार हुने, तर आफूलाई राजनीतिक व्यक्तित्व नठान्ने, आफूलाई महिला पनि नठान्ने, तर पुरुष हुँ पनि भन्न नसक्ने, विवादमा पर्न नचाहने, तर सधैँ विवादकै घेरामा रहिरहने, साहसी तर चञ्चल, महत्वाकाङ्क्षी र स्वाभिमानी व्यक्तिको रूपमा शैलजा आचार्यले आफ्नो छवि निख्खर पार्नुभएको छ । नेपालको इतिहासमा एउटा मन्त्रीले यति चर्चा सायदै पाए होलान् जति शैलजा आचार्यले पाउनुभयो । उहाँको क्रियाकलाप (कार्यशैली)माथि दृष्टिगोचर गर्दा लाग्छ, उहाँ आफूबाहेक अरू कसैमाथि विश्वास गर्नुहुन्न । बन्दुकबाट छुटेको गोलीजस्तो छ उहाँको बोली, निस्केपछि फिर्ता हुने सम्भावना नै हुन्न । उहाँको भनाइ छ, ‘आफूलाई ठीक लागेको कुरामा पनि विरोधी खुसी हुन्छन् या बढ्छन् भनेर अडान नलिने हो भने कहिल्यै ठीक बाटो पहिल्याउन र लक्ष्यमा पुग्न सकिँदैन । म घुमाएर कुरा गर्न जान्दिनँ, सोझो कुरा गर्छ, जे देखेको छु त्यही भन्छु । सही कुरामा अडान लिँदा कोही विरोधी बन्छन् भने बनुन्, तर कोही न कोही त समर्थक पनि बनिरहेका हुन्छन् ।’

शैलजा आचार्यले कृषिमन्त्रीबाट राजीनामा दिनुअघि उहाँलाई आफूले बोलेका बोली सच्याउन लगाउन पार्टीका नेताहरूबाट विभिन्न प्रयास भएका थिए, तर त्यसो गर्दा आफूले बोलेको कुरा ‘फिर्ता हुने भयले उहाँले राजीनामा दिनु नै श्रेयस्कर ठान्नुभयो । राजीनामा दिनुभएकै दिन यो पङ्क्तिकारले मन्त्रीनिवास हरिहर भवनमा उहाँसित भेट गरेको थियो । उहाँ उदास–उदासझैँ देखिनुहुन्थ्यो, तर पश्चात्तापको भाव भने पटक्कै देखिन्नथ्यो । सो भेटका बेला उहाँले भन्नुभयो, ‘मैले बोलिसकेपछि फिर्ता लिन्नँ भन्ने त सबैलाई थाहा हुनुपर्ने हो नि । पार्टीकै एकजना साथीले एउटा वक्तव्य ल्याएर सदनमा पढिदिन भनेका थिए, मैले मानिनँ, राजीनामा दिनु नै उपयुक्त लाग्यो, दिएँ ।’ अर्को एक प्रसङ्गमा शैलजाले भन्नुभयो, ‘मेरो कडा स्वभावका कारण पार्टीभित्र पनि साथीहरूसँग कहिलेकाहीँ झगडा हुन्थ्यो र भइरहेको पनि छ । चित्त नबुझेको कुरामा म बीपी र गिरिजाबाबुसँग पनि झगडा गर्थेँ ।’

सन् १९४४ को ८ मेमा विराटनगरमा जन्मनुभएकी शैलजा आचार्यलाई बाल्यकालदेखि नै नजानिँदो किसिमबाट राजनीतिले आकर्षित गरेको थियो, उहाँकी आमाले ‘झन्डा’ बोकेको र नारा लगाएको देखेर उहाँ पनि ख्याल–ख्यालमै ‘झन्डा’ समात्न पुग्नुभएको थियो । बाल्यकालमा त्यसरी समातेको झन्डा शैलजाले कहिल्यै छोड्न सक्नुभएन । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारको विघटन गर्दा त्यसको विरुद्ध कालोझन्डा लिएर सडकमा उत्रिने प्रथम महिलाको श्रेय पनि उहाँले नै पाउनुभएको छ ।

करिब ४ वर्षको कठिन कारावासको सजायसमेत भोगिसक्नुभएकी शैलजा आचार्यले पञ्चायतकालमा भारत निर्वासनताका सशस्त्र सङ्घर्षको निम्ति हातहतियार जुटाउने कार्यमा पनि विशेष भूमिका निर्वाह गर्नुभएको थियो । भारतका विभिन्न जोखिमपूर्ण ठाउँहरूमा पनि उहाँले हतियार खरिद र ओसारपसार गर्ने काम गर्नुभएको थियो । उहाँले कहिल्यै आफूलाई पुरुषभन्दा कमजोर ठान्नुभएन मात्र होइन कि महिला नै ठान्नुभएन । एक भेटमा उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ त म नारी हुँ भन्ने पनि बिर्सिन्छु, कसैले सम्झाएपछि मात्रै ए म त नारी पो हुँ क्यारे भन्ने ठान्छु । मैले काङ्ग्रेसबाट टिकट पाएको पनि महिला भएकोले होइन, काङ्ग्रेस र प्रजातन्त्रका निम्ति मैले दिएको योगदनका निम्ति हो । प्रजातन्त्रका निम्ति म जीवन त्याग्न तयार थिएँ र अब यसको रक्षा एवम् सुदृढीकरणका निम्ति पनि त्यत्तिकै समर्पित छु ।’

‘२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइरालाका साथ म पनि फर्किएकी थिएँ । बीपीले आफ्नो साथमा साइनाइड बोकेर आउनुभएको मलाई पनि थाहा थियो । पञ्चायती सरकारले चर्को यातना दियो र सहन नसक्ने भैयो भने साइनाइड खाएर प्राण त्याग्ने उहाँको विचार थियो, मैले पनि प्लेनमा बीपीसित साइनाइड मागेकी थिएँ, तर उहाँले दिनुभएन,’ शैलजाले भन्नुभयो ।

बीपी कोइराला र आफ्नी मातालाई प्रेरणाको स्रोत मान्नुहुने उहाँ आफूले जीवनमा कहिल्यै कसैसित सम्झौता नगरेको दाबी गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘वास्तवमा म अराजनीतिक मानिस हुँ, प्रजातन्त्र स्थापना भएपछि बाध्य भएर राजनीतिक गतिविधिमा पुनः लाग्नुप¥यो । नत्र म राजनीति गर्ने खालकी मानिस नै होइन । भनिन्छ, राजनीतिमा सम्झौता पनि अनिवार्य हुन्छ, तर म सम्झौता गर्ने जान्दिनँ ।’

० सम्झौता गर्न नजानेकोले नै विवाह नगर्नुभएको हो कि ?
– होइन, होइन । पहिले विवाह गर्ने उमेरमा प्रजातन्त्र प्राप्तिको लडाइँमा हिँडियो, विवाह गर्ने अवसर नै मिलेन । प्रजातन्त्र स्थापनापछि विवाह गरौँला–गरौँला भन्दाभन्दै यो उमेर भइहाल्यो ।

० अब विवाह गर्नुहुन्न ?
– असम्भव । अब म विवाह गर्न सक्दिनँ र चाहँदिनँ पनि ।

० कसरी चल्छ त जीवन ?
– अहिलेसम्म जसरी चलेको छ त्यसरी नै चल्छ ।

० मन्त्री हुँदा कस्तो लागेको थियो ?
– एउटा विद्यार्थीलाई जाँचको समयमा जस्तो लाग्छ त्यस्तै लागेको थियो । यति ठूलो जिम्मेवारी दिइएको छ, पूरा गर्न नसकिने पो हो कि भन्ने डर चौबीसै घन्टा लागिरहन्थ्यो । राति निद्रामा पनि झसङ्ग–झसङ्ग हुन्थेँ, ब्युँझिन्थेँ । जहाँतहीँ समस्याको थुप्रो देख्थेँ, तर मैदानमा उत्रिसकेपछि हातखुट्टा छोडेर भाग्न मिल्दैनथ्यो त !

० मन्त्रीबाट हट्नुपर्दा कस्तो लागेको छ नि ?
– एकदम सामान्य, म मन्त्री हुनको निम्ति राजनीतिमा लागेकी त थिइनँ नि । आफूले गरेको कर्मका आधारमा एउटा जिम्मेवारी लिएर कर्तव्य निर्वाह गरेकी मात्र हुँ । देश र जनताप्रतिको मेरो निष्ठा र कर्तव्य हिजो जे थियो आज पनि त्यही छ । मैले अलिकति पनि गल्ती गरेको छ जस्तो मलाई लागेको छैन ।

जे भए पनि उहाँले बोल्नुभएको कुराले यसपटक सरकार र पार्टीलाई साँच्चै अप्ठ्यारोमा पा¥यो । उहाँको बोलीलाई ठीक या बेठीकको कसीमा हेर्ने हो भने स्वयम् गिरिजाप्रसाद कोइरालाले पनि बेठीक भन्न सक्नुहुन्न, तर मुख्य कुरा नियम, अनुशासन र पदीय मर्यादाको हो, जसको घेरा शैलजाले नाघ्नुभएको आभाष जो–कोहीलाई पनि भएको छ । उहाँमा विद्यमान यस्तो सामान्य कमजोरीहरू हटाउनुभयो र वर्तमानमा देखिएको हौसला, हिम्मत र इमानदारीलाई बरकरार राख्नुभयो भने आशा गर्न सकिन्छ– शैलजाले एक दिन आफ्नो ‘इरादा’ अवश्य पूरा गर्नु सक्नुहुनेछ ।

(‘विमोचन’ मासिकको लागि २०४९ साउनमा शैलजा आचार्यसँग देवप्रकाश त्रिपाठीले लिएको अन्तर्वार्ता)

20 Shares

प्रतिक्रिया