चालकले बलात्कार गर्दा कम्पनी नै धरापमा

चालकले बलात्कार गर्दा कम्पनी नै धरापमा


बलात्कारपछि हत्याको सन्दर्भले यता तरङ्ग सिर्जना गरिरहेकै बेला उता चीनमा घट्न पुगेको यस्तै घटनाका कारण एपमा आधारित ट्याक्सी सेवा प्रदान गर्ने विश्वकै सबभन्दा ठूलो कम्पनी बन्द हुन पुगेको छ । डीडी चुजिङ कम्पनीले कार पुलवाला अनलाइन सर्भिस अस्थायी रूपले बन्द गरेको हो । गत शुक्रबार चीनको वेङ्जो शहरमा सो कम्पनीको ट्याक्सीमा सवार एक बीस वर्षीया युवतीको बलात्कारपछि हत्या गरिएको थियो । २७ वर्षीय ट्याक्सीचालक जोङले जबर्जस्ती एकान्त स्थल पुऱ्याई युवतीको बलात्कारका साथै हत्या गरेको स्वीकार गरेको सिन्ह्वाले जनाएको छ ।

ट्याक्सी–सेवा लिने महिला ग्राहकमाथि खराब दृष्टि राख्दै आएको भनी पहिले नै उजुरी परेको व्यक्तिमाथि कम्पनीले छानबिन नगरी सेवामा बहाल राखेको र यसक्रममा यात्रुमाथि बलात्कार अनि हत्याको घटना घटेपछि विश्वप्रसिद्ध सो कम्पनीको आलोचना गरिएको छ । यसअघि पनि सोही कम्पनीको अर्का एक ट्याक्सीचालकले २१ वर्षीया एयरहोस्टेसको बलात्कारपछि हत्या गरेका थिए । यसरी महिला यात्रुको सुरक्षामाथि ध्यान पुऱ्याउन नसकी पटक–पटक बलात्कार र हत्याजस्तो जघन्य घटना घटेबाट एपआधारित ट्याक्सी सेवा प्रदान गरेर विश्वमै नाम कमाएको सो कम्पनीको साख मात्र गिरेको नभई भविष्य नै धरापमा परेको छ ।