बच्चा जन्माउन आफै साइकल चलाएर मन्त्री पुगिन् अस्पताल

बच्चा जन्माउन आफै साइकल चलाएर मन्त्री पुगिन् अस्पताल


गर्भवती अवस्थामा रहेकी महिला बच्चा जन्माउन आफै साइकल चलाएर अस्पताल पुगेकी खबर आफैमा रोचक हुन सक्छ । त्यसमाथि ती महिला साधारण व्यक्ति नभई न्यूजिल्यान्ड जस्तो मुलुकको मन्त्री समेत हुन् भन्ने जानकारी पाउँदा हाम्रो जस्तो सुविधाभोगी आचरणका नेतानेतृलाई शर्म लाग्ने सन्दर्भ हुन सक्छ ।

हाम्रा नेताहरुले शर्म माने पनि नमाने पनि घटना वथार्थ हो । न्यूजिल्यान्डकी महिलामन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुन पुगेकी छिन् ।

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएको प्रसंगलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ प्रकाशन गरेका छन् ।

‘मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,’ साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनले महिलामन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हालीरहेकी छिन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् ।

यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् भने विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।