बुढो गैँडा मृत अवस्थामा फेला

बुढो गैँडा मृत अवस्थामा फेला


चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटेको हो ।

मृतक गैँडाको दाह्रासमेत खिइएका पाइएकोले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

नयाँ आर्थिक वर्ष (०७५/७६)मा प्राकृतिक रूपमा गैंडा मरेको पाइएको यो पहिलो हो । अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए । पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए ।

बाघ, गैंडालगायत वन्यजन्तुको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अनुसन्धान गरिनुपर्नेमा संरक्षणकर्मीले जोड दिँदै आएका छन् ।