नवीनले खेल्न नपाएकोमा दुःख व्यक्त

नवीनले खेल्न नपाएकोमा दुःख व्यक्त


नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले अब करातेमा कहिल्यै विवाद नहुने बताएका छन् । ‘अहिलेसम्म जे भयो भयो, अब विवाद हुन दिन्नँ, कसैले विवाद गर्छ भने पनि त्यसको कडारूपले प्रतिवाद गरिन्छ । अब जग हँसाउने कार्य गरिन्न, करातेलाई एसियाडमा कसरी पदक दिलाउन सकिन्छ त्यसतर्फ लागिन्छ,’ इन्डोनेसियामा अयोजना हुन गइरहेको १८औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा लाखेले बताए ।

१८औँ एसियाली खेलकुदमा कराते खेलको प्रदर्शनबारे चर्चा गर्दा लाखेले भने, ‘म आशावादी मान्छे हुँ, निराशाको कुरा गर्दिनँ ।’ करातेले एसियाडमा पदक जित्ने कुरामा ठोकुवा गर्न नसके पनि करातेले पदक जित्नेमा आफू आशावादी भएको लाखेले बताए । ‘खेल हो, जे पनि हुन सक्छ । मैले सोचेको र आशा गरेकोभन्दा पनि राम्रो परिणाम आउन सक्छ,’ लाखेले भने ।

करातेको यसपटकको प्रशिक्षण त्यति सन्तुष्टजनक नभएको लाखेले बताएका छन् । सम्भावित पदकविजेता खेलको लागि जुनस्तरको प्रशिक्षण हुनुपर्ने थियो त्यो नभएको गुनासो पोखेका छन् । एकातिर प्रशिक्षणको कमी, अर्कोतर्फ एक्सपोजर नहुनु करातेको लागि दुर्भाग्य भएको खुलासा गर्दै लाखेले भने, ‘यहाँ चलन नै यस्तै छ, अनि पदकको आस गरेर मात्रै कहाँ हुन्छ ?’ ‘पदकको लागि खेलाडीको मनोविज्ञानदेखि अन्य सम्पूर्ण वैज्ञानिक कुराको व्यवस्था र सुविधा हुनुपर्छ । जो करातेका खेलाडीले मात्र नभई अन्य कुनै पनि नेपाली खेलाडीले पाएका छैनन् । यस्तो कसरी पदकको ठोकुवा गर्न सकिन्छ ?’ उल्टै लाखेले प्रतिप्रश्न गरे ।

१८औँ एसियाडमा प्रतिस्पर्धा गर्ने कराते टोली सन्तुलित भएको बताउँदै लाखेले भने, ‘यी खेलाडीले गर्ने प्रदर्शनबाट आफू निकै आशावादी भएको बताए ।’ यी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्छन्, त्यो आफूलाई थाहा छ भन्दै लाखेले भने, ‘यो एसियाली खेलकुद प्रतियोगिता हो हचुवाको भरमा कुनै टीकाटिप्पणी गर्न मिल्दैन । म सस्तो लोकप्रियताको लागि त्यस्तो टिप्पणी गर्नपनि चाहँदैन । खालि यति मात्रै भन्न चाहन्छु, इन्चोन एसियाडमा झैँ इन्डोनेसिया एसियाडमा पनि कराते खेलाडीले मुलुकको प्रतिष्ठा जोगाउनेछन् ।

त्यस्तै करातेका प्रतिभाशाली खेलाडी नवीन रसायलीले १८औँ एसियाडमा खेल्न नपाएकोमा दुःख व्यक्त गरेका छन् । ‘निकै राम्रो, मिहिनेती र पदक जित्न सक्ने खेलाडी थियो, उसैले खेल्नबाट बन्चित हुनुप¥यो, यो मेरो लागि निकै कुठाराघात भएको छ । हामीले खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) समक्ष पनि नवीनबारे कुरा राखेका थियौँ, तर उहाँले मान्नुभएन,’ उनले भने ।