हिमाली जिल्ला मनाङमा ‘तीर’ जात्राको रौनक (फोटो फिचरसहित)

हिमाली जिल्ला मनाङमा ‘तीर’ जात्राको रौनक (फोटो फिचरसहित)


– छविलाल बगाले

हिमालपारिको जिल्ला मनाङमा तीर हान्ने प्रतियोगिता भएको छ । मनाङवासीको संस्कृतिसँग जोडिएको तीर हान्ने पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना भएको हो ।

ङिसाङ गाउँपालिका–१, पिसाङस्थित पिसाङ युवा क्लबको आयोजनामा प्रतियोगिता भएको हो । आफ्नो संस्कार र संस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न प्रतियोगिताको रूपमा आयोजना गरिएको आयोजक पिसाङ युवा क्लबका अध्यक्ष राजु गुरुङले बताए ।

दुई दिनसम्म भएको प्रतियोगितामा आयोजक पिसाङ युवा क्लबको समूहले नै उपाधि जितेको छ । प्रतिसमूह तीनजना प्रतियोगी रहेको सो प्रतियोगितामा विजेताले एक सय २ अंक ल्याएको थियो । उपाधिसँगै विजेता समूहले नगद २० हजारसहित सिल्ड र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा माथिल्लो मनाङको समूह दोस्रो र माथिल्ला मनाङकै अर्को समूह तेस्रो भएको छ । उपविजेता समूहले नगद १५ हजारसहित सिल्ड र मेडल प्राप्त गरेको छ भने तेस्रो भएको समूहले नगद पाँच हजारसहित मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा आयोजक पिसाङ युवा क्लबका धावा टसी लामा (गुरुङ) उत्कृष्ट खेलाडी भए भने सोही क्लबका लाक्पा गुरुङ सर्वाधिक गोलकर्ता भएका थिए । दुवै विजेताले जनही पाँच हजारसहित ट्रफी हात पारेका थिए ।

प्रतियोगिताका विजेतालाई एक समारोहबीच गाउँपालिका अध्यक्ष कान्छा गुरुङ, वडाध्यक्ष भुजु गुरुङ र वरिष्ठ समाजसेवी याङडुङ गुरुङले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

मनाङमा मनाइने चाड पर्वहरूमध्ये तीर पर्व एक मुख्य पर्व हो । विशेषगरी तीर पर्व चैतमा मनाउने चलन छ । वर्षमा एकपटक पर्वको रूपमा मनाउने गरे पनि संस्कृतिलाई लोप हुन नदिन र युवाहरूलाई आकर्षित गर्न अन्य समयमा पनि प्रतियोगिताको रूपमा आयोजना गरेको आयोजकले जनाएको छ ।