दोहोरो करको चपेटमा गिटी–बालुवा व्यवसायी

दोहोरो करको चपेटमा गिटी–बालुवा व्यवसायी


मुक्तिनाथ भुसाल, अर्घाखाँची

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले अन्याय गरेको भन्दै ढुङ्गा, गिटी, बालुवा व्यवसायी एवम् मजदुरहरूले असन्तुष्टिका आवाज ओकल्न थालेका छन् । नगरपालिकाभित्रको बाङ्गीखोला तथा जरेखोला आसपासमा करिब दुई दर्जन व्यक्तिले खोला तथा निजी जमिनमा वर्षौँदेखि ढुङ्गा, गिटी, बालुवाको कारोबार सञ्चालन गर्दा सात सयभन्दा बढीले रोजगारी पाएका छन् । व्यवसायीहरूले आर्थिक वर्ष ०७४/७५ मा जिल्ला समन्वय समितिलाई नियमअनुसारको राजस्व तिरी स्टक गरिएको ढुङ्गा, गिटी, बालुवाले खोलानाला बन्द हुँदा विकास निर्माणलगायत निजी प्रयोजनलाई लाभ पुऱ्याएको देखिन्छ ।

तर विडम्बना ! गत आवमा राजस्व तिरी स्टक गरिएको सामानमा नगरपालिकाले यसपाला पनि राजस्व लिएको र बिक्री गर्न खोज्दा प्रहरी प्रशासन लगाएर ट्र्याक्टर समाउँदै जरिवाना तिराएको स्थानीय एक व्यवसायी बलराम भुसाल बताउँछन् । प्रहरी प्रशासनमा ट्र्याक्टर पुगेपछि प्रतिट्र्याक्टर १० हजार जरिवाना तिर्ने र गाडीमा भएको ढुङ्गा, गिटी, बालुवा पनि सलामीस्वरूप फिर्ता नआउने अनुभव बलरामका अलावा प्रेम पौडेल, दीपेन्द्र आचार्य र अकिल मियाँलगायतका व्यवसायीको दिमागमा खल्बलिएर रहेको छ ।

अर्घाखाँची किसान ट्र्याक्टर व्यवसायी समितिका अध्यक्ष तथा व्यवसायी बाबुराम भुसालका अनुसार निम्नस्तरका परिवारले मात्रै खोलाको छेउछाउमा बसेर ढुङ्गा, गिटी, बालुवामा आफनो भविष्य खोजिरहेका हुन्छन् । उनीहरूको चित्त बुझाएर राज्यको नियमसमेत पालना गर्दा पनि आफूहरूको ट्र्याक्टर समाउने नगरपालिकाको व्यवहार राणाशासनको भन्दा कम नभएकोे उनको दुःखेसो छ । निजी जमिनमा ढुङ्गा, गिटी, बालुवा सङ्कलन गरेका मजदुरहरूलाई नगरपालिकाले बेलाबखत चेतावनी दिने कार्य नरोक्किएमा धेरैको गाँस खोसिने व्यवसायी खुसीराम चौधरीको गुनासो छ । मजदुर राजेन्द्र नेपालीका अनुसार आफूहरूले ठूलो भरोसाका साथ जिताएका जनप्रतिनिधिहरू यसरी कसाई बन्लान् भन्ने कल्पना गरिएको थिएन । निजी जमिनमा काम गरेर खान पाउनुपर्ने माग उनको छ ।

ढुङ्गा, गिटी, बालुवा व्यवसायी तथा मजदुरहरूलाई लक्षित गरी राजस्वको नाममा आतङ्कित तुल्याएकोे सन्धिखर्क नगरपालिकाले सदरमुकामको मुटु मानिने शान्ति बगैँचामा जम्मा ६ वटा सटरहरूलाई भाडामा लगाएको बुझिएको छ । समान खालका उक्त सटरहरूलाई गत आवको रेकर्डअनुसार मासिक छब्बीस हजारभन्दा माथिमा सम्झौता गरिएको भए पनि सटर नम्बर एकलाई भने जम्मा १० हजार मासिकमा भाडा लगाएको सूचना मागकर्ता प्रेम खड्काले जानकारी गराएका छन् ।

सन्धिखर्क नगरपालिकाले जनप्रतिनिधि प्राप्त गरेसँगै ०७४ साउन १७ गते नगरकार्यपालिकाको बैठक बस्दै गर्दा नगर उपप्रमुख ठाकुरकुमार विकको संयोजकमा राजस्व परामर्श समिति गठन गरेको थियो । यसैगरी ०७४ मङ्सिर ३ गते सन्धिखर्क नगरकार्यपालिका बैठकको निर्णय नम्बर ३ अनुसार स्थानीय आन्तरिक स्रोतबाट सङ्कलन भएको रकम नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका लागि प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराउने लिखित निर्णय भएको थियो । जसअनुसार कार्यालय सहयोगीहरूले ४ हजार, खरिदारहरूले ६ हजार, नायव सुब्बाले ८ हजार, अधिकृतले १० हजार र उपसचिवका लागि १२ हजार मासिक तोकिएको थियो ।

ज्ञातव्य छ, नगरपालिकामा मात्रै तलबी जनप्रतिनिधिबाहेक २६ जना कर्मचारीहरू रहेका छन् । यसैगरी सोही दिन गरिएको प्रस्ताव नम्बर चारको निर्णय नम्बर ४ अनुसार कार्यकारी बोर्डका पदाधिकारीहरू यानी की नगरप्रमुखका लागि ४० हजार, उपप्रमुखका लागि ३५ हजार र वडाध्यक्षका लागि २५ हजार आन्तरिक स्रोतबाट मासिक भत्ता दिने निर्णय गरिएको नगरपालिकाबाट प्राप्त च.नं. ६२ का सूचनाहरूमा उल्लेख छ । उल्लेखित कार्यकारी बोर्डका पदाधिकारीहरूको सञ्चार तथा यातायात खर्चका लागि भने यसबाहेक अलग रकम व्यवस्था गरिएको छ ।

सन्धिखर्क नगरपालिकाले जनप्रतिनिधि प्राप्त गरेपछि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाअगाडि नाली निर्माणमा ५ लाख, जस्तापाता र फलाम पाइपको प्रयोगबाट सम्पन्न नगरपालिकाको छेउमा अवस्थित सामान्य प्रतीक्षालयका लागि ५ लाख, जिल्ला अदालतअगाडिको नाली बनाउँदा ५ लाख, लवकुश होटेलअगाडिको सडक कालोपत्रेका लागि ५ लाखलगायत अनेक शीर्षकमा रकम खर्च गरिसकेको सम्बन्धित सबैलाई जानकारी रहेको छ ।