राजेन्द्रप्रति भरोसा बढ्दै

राजेन्द्रप्रति भरोसा बढ्दै


पूर्वपञ्चहरूको पार्टीसमेत भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन घटकहरूको एकताका निम्ति विभिन्न स्तरमा प्रयास भइरहँदा नयाँ नेतृत्व स्थापित गर्नुपर्ने आवाज घटकहरूभित्र जोडतोडका साथ चल्न थालेको छ । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीमध्ये थापा नेतृत्वको राप्रपा बलियो मानिन्छ । राजसंस्था र हिन्दूराष्ट्रलाई मुख्य एजेन्डा बनाएको राप्रपा वैचारिक रूपमा डा. लोहनीको समूहसँग निकट देखिन्छ ।

तर, नेतृत्वको विषयमा एकतामा बाधक बनेको छ । वैचारिक मामिलामा पशुपतिशमशेर राणा अस्पष्ट रहेको ठानिएका बेला उक्त समूहका नेता सुनीलबहादुर थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डाप्रति नकारात्मक धारणा सार्वजनिक गरेपछि सन्देह बढेको छ र, वार्तासमेत अवरुद्ध हुन पुगेको छ । राप्रपाले नेता बुद्धिमान तामाङको नेतृत्वमा र राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको नेतृत्वमा गठित वार्ताटोली केही सातायता निष्क्रिय देखिएका छन् ।

यसरी एकताको निम्ति भएका प्रयासमा अवरोध पैदा भए पनि नेतृत्वका विषयमा कुरा मिल्यो भने पार्टी एकीकरण हुने सम्भावना अझै रहेको छ । कतिपयले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मुख्य नेता बनाएर एकता गर्न सकिने भन्दै त्यस निम्ति प्रयास गरिरहेका छन् भने केहीले चक्र प्रणालीमा अध्यक्ष बन्ने गरी एकतामा जान सकिने धारणा पनि प्रकट गरिरहेका छन् ।

तर, राप्रपा प्रजातिका सबै समूहभित्र झापाबाट विजयी सांसद एवम् राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाएर अघि बढ्नु उपयुक्त हुने भन्दै चर्चा–परिचर्चा शुरु भएको पाइएको छ । कमल थापा, पशुपतिशमशेर र डा. प्रकाशचन्द्र लोहनीलाई वरिष्ठतम् नेताका हैसियतमा राखेर राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाइयो भने उक्त पार्टीको प्रभाव अतुलनीय एवम् असोचनीय ढङ्गले विकास एवम् विस्तार हुने विश्वास सम्बद्ध पार्टीका समर्थकहरूले गरेका छन् ।