हेटौँडाबाट काभ्रेमा सर्दै राजधानी

हेटौँडाबाट काभ्रेमा सर्दै राजधानी


देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरू रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आममानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कर्णाली र गण्डकी) तय गरिसकेका छन् भने अन्य पाँचवटा प्रदेशले यस विषयमा औपचारिक बहस–छलफलसमेत प्रारम्भ गरेका छैनन् । बाँकी पाँचवटै प्रदेशमा राजधानी र नामका विषयलाई लिएर विवाद तथा तनाव उत्पन्न हुने ठानिएको छ ।

हाल प्रदेश सातको राजधानी धनगढी, कर्णाली (६) को सुर्खेत, पाँचको बुटवल, गण्डकी (चार) को पोखरा, तीनको हेटौँडा, दुईको जनकपुर र एकको विराटनगर निर्धारण गरिएको छ । पोखरा र सुर्खेतले स्थायित्व पाइसकेको भए पनि अन्य प्रदेशहरूको नाम र राजधानी निश्चित हुन सकेको छैन । अहिले जहाँ अस्थायी राजधानी तोकिएको छ, धेरैले त्यही ठाउँ स्थायी राजधानी बन्ने विश्वास गरेका छन् ।

तर, वास्तविकता त्यसप्रकारको छैन, प्रदेश तीन र एकले राजधानीबारे यकिन गर्न सकेका छैनन् । दुई र सात नम्बर प्रदेशमा पनि स्थायी राजधानी तोकिने क्रमसँगै पुनः तनाव पैदा हुने सम्भावना छ । प्रदेश एकले मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास या इटहरीसम्मलाई समेटेर राजधानी बनाउनेबारे विचार गरिरहेको बुझिन्छ । कदाचित विराटनगरको विकल्प खोजियो भने त्यहाँ व्यापक विरोध र असन्तुष्टि प्रकट हुने सङ्केतहरू देखिएका छन् । यसअघि राजधानीकै विषयलाई लिएर धनकुटा आन्दोलित बनेको थियो । एक नम्बर प्रदेशको नाम भने ‘कोसी’ रहन सक्ने अनुमान छ ।

तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने सम्भावना ज्यादा देखिएको छ । कसैले नेपाल मण्डल, कसैले पाशुपत प्रदेश, कसैले ताम्सालिङ, कसैले राजधानी प्रदेश त कसैले शैलुङ नाम सुझाएका भए पनि अन्ततः सबैलाई स्वीकार्य हुने गरी बागमती या नारायणी नदीकै नामबाट प्रदेशको नामाकरण हुने सम्भावना छ । तर, राजधनीका विषयमा भने तीन नम्बर प्रदेशमा एकपटक ठूलै तनाव पैदा हुने स्थिति छ । हेटौँडाले हेटौँडा नै स्थायी राजधानी बन्ने ठानेको भए पनि अब प्रदेश राजधानी हेटौँडाबाट सर्ने प्रायः निश्चित भएको छ । नुवाकोट र भक्तपुरलाई समेत सम्भावित राजधानीका रूपमा हेरिएको भए पनि अन्ततः काभ्रेको धुलिखेल–बनेपा क्षेत्रलाई राजधानी बनाइने भएको छ । आगामी केही साताभित्रै नाम र राजधानी तय गर्ने आन्तरिक गृहकार्य राजनीतिक वृत्तमा चलिरहेको छ । धुलिखेल–बनेपालाई स्थायी राजधानी तोकिएको अवस्थामा हेटौँडाले कस्तो प्रतिक्रिया जनाउने हो, निर्णयकर्ताहरूका निम्ति चासो र चिन्ताको विषय बनेको छ ।