बिचौलियाका कारण खेलकुदको मानमर्दन

बिचौलियाका कारण खेलकुदको मानमर्दन


व्यवस्थापिका संसद् सचिवालबाट आएको पत्रको खाम खोलेर हेर्दा कुनै एउटा खेल संघले हार्भेष्ट मुन ट्राभल्सलाई लेखेको पत्र देखेपछि सो ट्राभल्सका कर्मचारी चकित परेका छन् । संघका अध्यक्ष अच्युत खनालको हस्ताक्षर रहेको उक्त पत्रको खाम व्यवस्थापिका संसद् सचिवालयको प्रयोग गरिएको छ । खनालले आफ्नो संघको खाम र अन्य साधारण खामको प्रयोग गर्नुको साटो किन सचिवालयको खाम प्रयोग गरे– त्यो अहिले खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ नाम गरेको उक्त संघले हवाई टिकटको माग गर्दै हार्भेष्ट मुन ट्राभल्सलाई सहयोगको लागि पत्राचार गरेको देखिएको छ । संघका अध्यक्ष खनालले उक्त पत्र २०७५ साल असार २९ गते ट्राभल्स कम्पनीलाई लेखेको प्रस्ट रूपमा देख्न सकिन्छ । राष्ट्रिय खेलकुद परिषद्मा यो संघ कहिले दर्ता भयो त्यसको सुइँकोसमेत कसैलाई थाहा नभएको अवस्थामा यो खेललाई १८औँ एसियाडमा समावेश गरिएको थियो । प्राप्त जानकारीअनुसार यो खेललाई सम्भावित पदक विजेताको खेलको रूपमा समेत राखिएको सुनिनमा आएको छ । तर, यो खेलको अहिलेसम्म नेपालमा कुनै राष्ट्रिय प्रतियोगितासमेत नभएको जानकारी प्राप्त भएको छ ।

एसियाली खेलकुदमा सहभागिता जनाउने सम्पूर्ण खेललाई सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले सम्पूर्ण सुविधा उपलब्ध गराएको छ । जसमा हवाई टिकट, आवास र भत्तासमेत रहेको छ । यसरी सरकारी सुविधा पाउँदापाउँदै संघका अध्यक्ष खनालले किन र के प्रयोजनका लागि संघको नाम बेचेर ट्राभल्स कम्पनीसँग सहयोगको लागि गुहार गरे ? त्यसमा ठूलो चलखेलको आशंका गरिएको छ । साथै उनले सचिवालयको खाम प्रयोग गरेर सचिवालयलाई समेत विवादमा ल्याउने कार्य गरेका छन् । संघका अध्यक्षले यस्तो गैरकानुनी शैलीमा पत्राचार गर्नुको पछाडिको रहस्य के हो ? त्यसको छानबिन सम्बन्धित निकाय राखेप र सचिवालयले गर्ने कि नगर्ने त्यो अहिले अहम् प्रश्न बनेको छ । अब सम्बन्धित निकायले खनाललाई कारबाहीको दायरामा ल्याएर कानुनी उपचार गर्छन् कि स्यावासी दिन्छन्– त्यो हेर्न लायक भएको छ ।

विगतमा पनि राखेपलाई थाहै नदिई खेलकुदसँग गोरु बेचेको साइनोसमेत नभएका व्यक्तिहरू एसियाली खेलकुदमा टुपुल्किएको कसैबाट छिपेको छैन । अहिले पनि यो क्रम जारी रहेको अध्यक्ष खनालको हर्कतबाट प्रस्ट हुन्छ । १८औँ एसियाडमा नेपालले कति खेलका कति खेलाडी, पदाधिकारी त्यहाँ पठाउँदै छ त्यसको अन्तिम नामावली प्रकाशित गरेको छैन । कहिले गर्छ त्यसको पत्तोसमेत छैन । यस्तो अवस्थामा हिजो पनि बिचौलियाहरूले फाइदा उठाएका थिए, अहिले पनि उठाइरहेका छन् । यसको नायकको रूपमा अहिले अच्युत खनाल देखिएका छन् ।