एसियाडका कारण एथलेटिक्स संघको निर्वाचन स्थगित

एसियाडका कारण एथलेटिक्स संघको निर्वाचन स्थगित


नेपाल एथलेटिक्स संघको निर्वाचन स्थगित भएको छ । उक्त कुराको साउन २९ गते पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजीवविक्रम शाहले जानकारी गराएका छन् ।

अध्यक्षले शाहले साधारणसभाको मिति तोकेर सम्पूर्ण कानुनी प्रक्रिया पुऱ्याई साउन २९ गते मंगलबार साधारणसभा गर्ने तयारी गरेको थियो । त्यसको लागि संघले राखेपबाट निर्वाचन कमिटी खटाइदिन दुई साताअघि नै राखेपमा पत्राचार गरेको थियो । लामो समयसम्म राखेपले यसबारे कुनै जानकारी नगराई अर्थात् निर्वाचनको एक दिनअघि साउन २८ गते एथलेटिक्स संघलाई पत्राचार गर्दै निर्वाचन स्थगित गर्न भनेको थियो ।

राखेपले एथलेटिक्स संघलाई लेखेको पत्रमा साउन २९ गते चितवनको जिल्लाको सौराहमा संघको केन्द्रीय साधारणसभा तथा निर्वाचन गर्ने भनिएकोमा मित्रराष्ट्र इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८औँ एसियाली खेलकुद र संघको निर्वाचनको केही प्रक्रिया मिलाउनुपर्ने भएकोले साउन २९ गते गर्ने भनिएको निर्वाचन स्थगित गरी अर्को मितिमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी गर्न–गराउन निर्देशन दिएको थियो ।

विधानअनुसार नेपाल एथलेटिक्स संघका पदाधिकारीहरूको चारवर्षे कार्यकाल सकिएको छ । यसैलाई मध्यनजर गर्दै विधानसम्मत संघको कार्यसमितिको बैठकले नयाँ कार्यसमितिको निर्वाचन गराउन साउन २९ गतेको मिति तोकेको थियो । संघले सो कुराको जानकारी राखेपलाई गराउँदै जेठ २३ गते असार १७ देखि २५ गते जिल्ला संघको निर्वाचन गर्ने र असार ३० गतेसम्म साधारणसभाको केन्द्रीय प्रतिनिधिको नाम पठाउने निर्णय गरेको थियो । त्यसपछि केन्द्रीय निर्वाचन र साधारणसभाको लागि संघले राखेपमा पत्र दर्ता गराएको थियो ।

त्यसपछि राखेपले निर्वाचन गर्न चार बुँदाहरू अनिवार्य रूपमा पूरा गरेर मात्र साधारणसभाको मिति तोक्न निर्देशन दिएको थियो । राखेपले प्रस्तुत गरेका चार बुँदाहरूमा पहिलो साधारण सदस्य वितरण, दोस्रो जिल्ला संघ पुनर्गठन, तेस्रो केन्द्रीय प्रतिनिधिको छनोट र चौथोमा पेस्की तथा बेरुजु फस्र्योट थियो । संघले राखेपको दिएको निर्देशनको पालना गर्दै सम्पूर्ण प्रक्रिया पूरा गरी साधारणसभाको मिति तोकेको अध्यक्ष शाहले जानकारी गराएका छन् । साथै शाहले ३९ मध्ये ३७ जिल्लाका केन्द्रीय प्रतिनिधिहरूको छनोट गरी राखेपमा पत्राचार गरेको बताए ।

तर, अन्तिम समयमा आएर राखेपले एसियाडको वहाना बनाउँदै संघको निर्वाचन स्थगित भएको छ । संघको निर्वाचन रोक्नु कुनै कारण नभए पनि राखेपले निर्वाचन स्थगित गर्नु र अर्को मितिमा गर्नु–गराउनु भनेपछि एथलेटिक्स संघको निर्वाचन झन्डै एक महिना पछि सरेको छ । अब संघको निर्वाचन १८औँ एसियाडको समापनसँगै अर्थात् भदौ २२ गते हुने संघका अध्यक्ष शाहले जानकारी गराएका छन् । त्यस्तै शाहले संघले यो मिति तोके पनि राखेपले यसभन्दाअघि निर्वाचन गर्न निर्देशन दिएमा आफू तयार रहेको पनि बताए ।

सो अवसरमा १८औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने एथलेटिक्स खेलाडीहरूको बिदाइ गरिएको थियो । ती खेलाडीलाई संघका अध्यक्ष शाहले ट्रयाकसुट प्रदान गर्नुका साथै अन्य पदाधिकारीले खादा लगाएर बिदाइ गरेका थिए ।