बलिउड स्टार प्रियंका विवाहको घोषणा गर्दै

बलिउड स्टार प्रियंका विवाहको घोषणा गर्दै


चर्चित स्टार प्रियंका चोपडाको रिलेसनसिपका कारण यतिबेला बलिउड तातेको छ । प्रियंका लामो समयदेखि ब्याइफ्रेन्ड निक जोनसँग रिलेसनसिपमा रहे पनि उनले अहिलेसम्म आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रियंका र जोनले सँगै बसेर पनि मुख नखोलेपछि यी दुईबीचको सम्बन्ध रहस्यमय बन्दै आएको थियो ।

थुप्रै ठाउँमा प्रियंका र निक एकसाथ देखिएपछि उनीहरूबीचको सम्बन्धको निकै चर्चा भएको थियो । यो सम्बन्धको रापले बलिउडसँगै प्रियंकाको परिवारलाई समेत तताएको थियोे । त्यसपछि प्रियंकाकी आमाले आफ्नी छोरीले भारतीयसँग मात्रै विवाह गर्ने खुलासासमेत गरेकी थिइन् । प्रियंकाको आमाको यो कथनसँगै उनीहरूको सम्बन्धबारे अड्कल र अनुमान लगाउन अझै गाह्रो भएको थियो ।

यतिबेला प्रियंकाले आगामी १८ अगस्टमा एउटा पार्टीको घोषणा गरेर आफ्ना नजिकका साथी र घरपरिवारका सदस्यलाई बोलाएपछि अहिले विभिन्न अड्कल काटिन थालेको छ । कतै प्रियंकाले आफ्नो विवाहको घोषणा गर्न उक्त पार्टीको आयोजना गरेकी त होइनन् ? बलिउडमा चर्चा चल्न सुरु भएको छ । तैपनि पार्टीको चुरो कुरो भने पत्ता लाग्न सकेको छैन । प्रियंकाले अब उक्त पार्टीमा कस्तो घोषणा गर्छिन् प्रतीक्षाको विषय बनेको छ ।

एक महिना पहिले आयोजना गरिएको प्रियंकाको ३६औँ जन्मदिनको पार्टीमा निकले विवाहका लागि प्रियंकालाई प्रस्ताव राखेका थिए । निकले विवाहको प्रस्ताव राखे पनि दुवैले यो कुरालाई गोप्य राखेका थिए । सो अवसरमा निकले प्रियंकालाई औँठीसमेत उपहार दिएको स्रोतले जनाएको छ । त्यसपछि प्रियंका निकको भाइको विवाह र पार्टीमा समेत निकसँगै देखिएकी थिइन् ।