प्रहरी हत्याका अभियुक्त राज्यमन्त्रीद्वारा आत्मसमर्पण

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्रीद्वारा आत्मसमर्पण


प्रहरी हत्याका अभियुक्त प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । उनी बिहान ११ बजेतिर अंगरक्षकका साथ अदालतमा उपस्थित भएका हुन् । उनीमाथि तेस्रो मधेश आन्दोलनका बेला सशस्त्र प्रहरी असइ थमन विकलाई एम्बुलेन्सबाट तानेर मारेको आरोप लागेको छ ।

असइ थमनको ०७२ भदौ २५ गते उपचारको लागि जनकपुर अञ्चल अस्पताल लाने क्रममा साबिक महोत्तरी गाउँपालिकास्थित सोनुषडा भन्ने ठाउँमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

गत साता उच्च अदालत जनकपुरले अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएपछि शर्मा अंगरक्षकसहित आफैँ उपस्थित भएका हुन् ।

राज्यमन्त्री शर्माका अधिवक्ता रमेशकुमार पाण्डेयले मिडियामा आफू फरार भनिएर समाचार छापिएपछि तत्कालै राज्यमन्त्री शर्मा अदालतमा उपस्थित भएको बताए ।

सो अभियोगमा तीनजनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ । पक्राउ परेका मोहन ठाकुर तारेखमा रिहा भई मुद्दा लड्दै छन् भने सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि थुनामा छन् ।