प्रकाण्डमाथिको कारवाही अमानवीय : पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाण्डमाथिको कारवाही अमानवीय : पूर्वप्रधानमन्त्री भट्टराई


नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डामाथिको अभियोग फिर्ता लिएर बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् । महानगरीय प्रहरी परिसर टेकुमा हिरासतमा राखिएका प्रकाण्डलाई आइतबार भेट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले प्रकाण्डमाथि हत्कडी लगाएर घोर अमानवीय व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका व्यक्तिलाई अपराधिलाई झैँ हत्कडी लगाउनु सरकारको फासीवादी चरित्र भएको उल्लेख गर्दै डा. भट्टराईले राजनीतिक मान्छेलाई गैरराजनीतिक मुद्दा लगाउने कोशिस गरिएकोले सरकारको यस अमानवीय कदमको विरोध गर्न सबैलाई आग्रह गरे ।

हिरासतमा प्रकाण्डसँग करिव १५ मिनेट भेटघाट गरेका बाबुराम भट्टराईले सरकार आफ्नै गल्तीले दिनदिनै ओरालो लागेको तर्क गर्दै राजनीतिक मुद्दासँग जोडिएका सबै बन्दीलाई राजनीतिक तवरले नै व्यवहार गरी रिहा गर्न सरकारसँग माग गरे ।

यसैबीच नेकपाका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त चाँडै रिहाइ नगरे देशमा आँधी हुरी आउने चेतावनी सो पार्टीका नेता कार्यकर्ताले दिन थालेका छन् । प्रकाण्डको गिरफ्तारीको विरोध एवम् सरकारी ज्यादतिको भण्डाफोर गर्ने भन्दै रोल्पामा आयोजना गरिएको एक कार्यक्रममा नेकपा रोल्पाका सेक्रेटरी प्रयासले आफ्नो पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई सरकारले गैरन्यायिक एवं गुण्डाशैलीमा गिरफ्तार गरेको आरोप लगाउँदै विनाशर्त शीघ्र रिहाईको माग गरे । नेकपाका नेता-कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरी झुठो मुद्दा लगाएर सरकारले अघोषित युद्ध शुरु गरेको उनको आरोप थियो । आफूहरु मार्ने र मर्ने खेलमा नभएको भन्दै उनले कसैले देशको स्वाभिमानमा आँच आउने काम गर्छ भने, कसैले देशको ढुकुटीमाथि ब्रम्हलूट गर्छ भने त्यसलाई जनताको माझमा जनताकै आदेशानुसार कारवाही गर्न पछि नपर्ने चेतावनी दिएका थिए ।