मान्छेको व्यापार

मान्छेको व्यापार


– निष्णु थिङ

कसले भनेको यो दुनियाँमा
कमारा–कमारीको प्रथा
सकियो भनेर
कसले भनेको यो दुनियाँमा
दास–दासीको प्रथा
सकियो भनेर
यहाँ मान्छेको व्यापार जति
अरू व्यापार कहाँ चलेको छ !!!
यहाँ मान्छेको व्यापार नगरी
यो शहरमा कहाँ झिलिमिली बलेको छ !!!

हेर्नलाई यो शहर
बाहिर जति सुन्दर छ
देख्नलाई यो शहर
बाहिर जति सुन्दर छ
तर यो शहर
भित्र कति कुरूप छ
हुलका हुल गाउँका
मान्छे सङ्कलन गरेर
यो शहर गाउँ रित्याउने
खेल खेल्दै छ

जब यो शहरले
झ्याप्प झ्याप्प
छाप ठोक्छ राहदानीमा
बेच्न–बेचिन योग्य हुन्छ मान्छे
कुनै कानुनको धाराले छेक्दैन
कुनै कानुनको उपधाराले रोक्दैन

मान्छे बेच्ने व्यापार
निकै बढ्दो छ
जसले मान्छे बेच्न सक्दैन
जसले मान्छे बेच्न खोज्दैन
जसले मान्छे बेच्न जान्दैन
ती मनुवाहरू यो शहरमा
बुङ्गा ठहरिन्छन्
लाटो सोझो ठहरिन्छन्

यो शहरका घरहरूमा
मान्छे सङ्कलन केन्द्रहरू खुलेका छन्
यो शहरका गल्लीहरूमा
मान्छे निर्यात केन्द्रहरू खुलेका छन्
अनि झुन्डिएका छन्
ठूला–ठूला होर्डिङ बोर्डका तुुलहरू
घर–घरमा फुलेका छन्
आकर्षक लाग्ने ती फूलहरू

कहिलेकाहीँ मलाई लाग्छ
हाम्रा गाउँका आमाबुवाहरू
बालबच्चा उत्पादन गर्ने
कारखानाहरू हुन्
कहिलेकाहीँ मलाई लाग्छ
मेरा देशका दम्पतीहरू
केटाकेटी पैदा गर्ने
बहुराष्ट्रिय कम्पनीहरू हुन्
जसका मालहरू
युरोप, जापान, अमेरिका
कतार, दुबई, अफ्रिका
सारा विश्वले खपत गरिरहेका छन्
सारा विश्वले उपभोग गरिरहेका छन् ।