तल्लो मोदीमा विद्युत उत्पादनमा ढिलाइ

तल्लो मोदीमा विद्युत उत्पादनमा ढिलाइ


जडित क्षमता २० मेगावाट रहेको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ढिलाइ भएको छ ।

असारभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्यसहित निर्माण थालिएको सो आयोजनाको काम मंसिरसम्म धकेलिएको छ ।

कुश्मा नगरपालिका–८ पराधिमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदीखोला स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले तोकेको समयमा सक्न ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए । पाँच वर्षभित्र उत्पादन शुरु गर्ने लक्ष्यका साथ सो आयोजनाको काम २०६९ साउनदेखि थालेको हो ।

“वर्षामा पहिरो जाँदा र भित्र बाढी पस्दा काममा बाधा पुग्यो,” प्रमुख यादवले भने । वर्षाका कारण आयोजनाको विद्युतगृहमा काम गर्न समस्या भएको छ । करीब ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका प्रतिनिधि त्रैलोक्यराज चालिसेले बताए ।

शुरुका वर्षमा भूकम्प र नाकाबन्दीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ । “कामलाई तीव्र पार्दैछौँ,” चालिसेले भने, “विद्यतगृहसम्म पाइप विच्छ््याउने, टर्वाइन र जेनेरेटर जडानको काम भइरहेको छ ।”

तीन अर्ब ६० करोडमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना निर्माण अघि बढाइएको हो । राससका अनुसार आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।